मधेसी दल फकाउदै एमाले, संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

 

काठमाडौँ १३ माघ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट गरे । एमालेले प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने उनले बताए ।

राष्ट्रिय जनता पार्टी र मधेशी जनाधिकार फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ । “हामीलाई जुन प्रकारले मधेश विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ ।” महासचिव पोखरेलले भने, “औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सधैं खुल्ला रहन्छ ।”

अर्को प्रश्नमा उनले नेकपा माओवादी केन्द्र सँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताए । उनले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्यविभाजन हुने बताए ।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनमा तालमेल र प्रदेशसभा गठनका विषयमा कार्यदलले काम गरिरहेको र अब बस्ने एकता संयोजन समितिले वैचारिक र संगठन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गर्ने स्पष्ट गरे ।

Advertisment