बेरोजगार युवालाई मासिक भत्ता दिदै देउवा सरकार, अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुन्छ : प्रधानमन्त्री देउवा

 

काठमाडौँ १४ माघ ।
कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् ।

त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् ।‘सरकारमा आउनुअघि नै प्रधानमन्त्री भएपछि यो–यो गर्छु भनेर मैले बोलेको थिएँ । प्रधानमन्त्री हुनासाथ सुरुमा निर्वाचन आचारसंहिताले गर्न दिएन ।

त्यतिबेला दलीय सहमतिको सरकार थियो,’ कान्तिपुरले राखेका जिज्ञासामा वाणिज्यमन्त्री मीन विश्वकर्मामार्फत उनले जानकारी गराए, ‘चुनावलाई प्रभावित पार्ने काम गर्नु हुँदैन भन्ने मलाई पनि लाग्यो र त्यतिबेला सबै काम थाती राखें । अहिले चुनावलाई असर गर्दैन ।

मैले बोलेका र प्रतिबद्धता गरेका कार्यक्रम जाने बेला गरेको हुँ । गलत भए आउने सरकारले फिर्ता लिए भइहाल्यो ।’वितरणमुखी बजेटको सधैं विरोध गर्ने कांग्रेसले अहिले किन यस्ता निर्णय लियो भन्ने प्रश्नमा वाणिज्यमन्त्री विश्वकर्मा भन्छन्, ‘कांग्रेसका अघिल्ला सरकार महत डक्ट्रिन ९रामशरण महतको सिद्धान्त० मा चलेको थियो ।

तर अब बीपी डक्ट्रिनमा अघि बढदै छ ।’ उनले उत्पादनसँगै वितरणमुखी कार्यक्रमलाई प्राथमिकता दिने नीति कांग्रेसले अख्तियार गरेको पनि बताए ।

‘पहिला उत्पादनलाई मात्रै प्राथमिकता दिइयो तर कांग्रेसको शक्ति झनै कमजोर बन्दै गयो । नेपालमा वितरणमुखी बजेटले नै लोकप्रिय हुने रहेछ,’ उनले थपे, ‘उत्पादन र वितरणलाई समानान्तर नीतिका रूपमा कांग्रेसले अघि बढाउन थालेको छ ।

समाजवादी र लोककल्याणकारी राज्यको नीति पनि यही हुनुपर्छ ।’

बेरोजगार भत्ता मासिक २ हजार ?

मन्त्रिपरिषदमा अझै बेरोजगार भत्ता मासिक २ हजार रुपैयाँ दिने, शैक्षिक प्रोत्साहन भत्ता दिनेलगायत दर्जनभन्दा बढी प्रस्ताव अडकिएका छन् ।

अर्थ मन्त्रालयको स्वीकृतिबिना नै मन्त्रिपरिषद्ले यस्ता कार्यक्रम पारित गरिरहेको छ । जसप्रति अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सन्तुष्ट छैनन् ।

उनकै कारण केही योजना र कार्यक्रम अहिले मन्त्रिपरिषद्मा अडकिएका हुन् । ‘हामीले नगरे एमालेले गरिहाल्छ भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा आएका लोकप्रिय योजना र कार्यक्रम निर्णय गराउने मुडमा अझै हुनुहुन्छ,’ अर्थ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई राज्यकोषको अवस्था के छ रु मुलुकले धान्न सक्छ कि सक्दैन भन्नेबारे त्यति चासो छैन । यो पनि र त्यो पनि गर्नुपर्छ मात्रै भन्नुहुन्छ ।’

उद्योगमन्त्री सुनीलबहादुर थापाले बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए ।

वाणिज्यमन्त्री विश्वकर्माले त्यसको सट्टा सामुदायिक विद्यालयको प्राथमिक तहमा पढ्ने छोराछोरीका आमालाई प्रोत्साहन भत्ता दिन प्रस्ताव अघि सारेका छन् ।

यी र यस्ता कार्यक्रम दर्जन बढी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भइसकेका छन् । मन्त्रीहरूले समेत त्यस्ता कार्यक्रम जाँदाजाँदै पारित गराउन जोडबल गरिरहेका छन् ।

सरकारले राज्यलाई ५० अर्ब रुपैयाँभन्दा बढी भार पर्ने गरी कर्मचारीको स्वैच्छिक अवकाशको योजनासमेत ल्याएको छ । राज्यको ढुकुटीलाई ख्याल नगरी ल्याइएको स्वैच्छिक अवकाश योजनासम्बन्धी ऐनका कारण सरकार आर्थिक अप्ठ्यारोमा पर्दै छ ।

उक्त विधेयकको ‘आकर्षक लाभ’ उठाउँदै जागिर छाड्न चाहने सरकारी कर्मचारीका लागि ५० अर्ब रुपैयाँभन्दा बढी तत्काल जुटाउनुपर्ने हुन्छ ।

किन गरे प्रधानमन्त्रीलेयस्ता निर्णय ?

प्रधानमन्त्री देउवाले सरकारमा आउनुअघि नै आफूले प्रतिबद्धता गरेका कार्यक्रम मात्रै ल्याएको बताएका छन् । तर, प्रधानमन्त्री देउवाले एकपछि अर्को गर्दै यस्तो निर्णय लिनुका पछाडि पार्टीभित्र बढदै गएको आफूविरुद्धको आलोचना मत्थर पार्ने प्रयास प्रमुख हो ।

तर, त्यति मात्रै होइन । स्रोतका अनुसार आउने सरकारलाई आर्थिक रूप अप्ठ्यारो पार्नु पनि प्रधानमन्त्रीको भित्री उद्देश्य हो । ‘एमालेको अहिलेको विरोध आफूले गर्न नपाइने भो भन्ने चिन्ता मात्रै हो भन्ने प्रधानमन्त्रीको बुझाइ छ,’ स्रोतले भन्यो, ‘हामी हटेपछि एमालेले यस्तै निर्णय लिन्छ भने अहिल्यै हामीले किन नगर्ने भन्ने प्रधानमन्त्रीको सोच छ ।’

गत माघ ४ र ५ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री देउवाप्रति धेरैको आक्रामक आरोप थियो, ‘सरकारले गलत निर्णय लियो र प्रभावकारी काम गर्न सकेन ।’

योसँगै जोडिएका प्रश्न वृद्धभत्ता र केही सामाजिक सुरक्षाका कार्यक्रमले नै एमालेले चुनावमा मतदाता आकर्षित गर्न सक्यो । कांग्रेसले किन गर्न सकेन भन्ने थियो ।

वाणिज्यमन्त्री विश्वकर्मा स्विकार्छन्, ‘पार्टी बैठकले पनि कांग्रेसले अब सामाजिक सुरक्षाका योजनालाई पनि सँगै लैजानुपर्छ भन्ने दबाब दियो, त्यसैले कांग्रेसको नेतृत्वको सरकार छँदै केही निर्णय गर्न लागिएको हो ।’

Advertisment