प्रदेश २ मा राष्ट्रिय पोषाक नलगाउन नपाउने, मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ

 

जनकपुरधाम, २१ माघ।
नेपालको राष्ट्रिय पोषाक पुरुषहरुका लागि दौरा सुरुवाल हो भने महिला हरुका लागि फरिया र चोलो हो । तर, संसदीय अभ्यसमा खटिनहरुले नै राष्ट्रिय पोषाक लगाउन नपाउने भएपछि मुलुकको शासन सत्ता कसरी चलेको छ र कसको हातमा छ भन्ने जनताले चाल पाउन सक्ने विषय नै भएन । संसदीय अभ्यासमा खटिने मर्यादापालकहरुलाई नै राष्ट्रिय पोषाकबाट बञ्चित गराउँदा समेत केन्द्रको सरकार भने अझै रमिते नै बनेर बसेको छ ।

नेपालको संसदीय अभ्यासमा पुरुषले सेतो दौरासुरुवालमाथि कालो कोट र भादगाउँले टोपी लगाउँछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारीमा कालो कोट लगाउँछन् । तर, आइतबार प्रदेशसभा २ को पहिलो बैठक स्थलमा यस्तो देखिएन । पुरुष मर्यादापालकहरु कोही स्वीटर लगाएका छन् त कोही ज्याकेटमा छन् । महिलाहरु भने कुर्था सुरुवालमा छन् । त्यहाँ कुनै एकरुपता छैन । मर्यादापालक हुन् कि अरु नै कोही हुन् भनेर छुट्टाउन मुस्किल छ । प्रदेश २ ले पहिलो बैठकअघि नै सर्बदलीय बैठकबाट मर्यादापालकको दौरा सुरुवाल अस्वीकार गर्दा यो अवस्था आएको हो ।

प्रदेशसभा बैठक सञ्चालनका लागि सहजीकरण गर्न जनकपुर पुगेका संसद सचिवालयका सहसचिव बंशी पौडेलका अनुसार दुई नम्बरका ठूला दलका नेताहरुले नै दौरा सुरुवाल लगाउन नदिएका हुन् । उनले भने–‘मैले मर्यादापालकहरुका लागि दौरासुरुवाल र सारी चोलो लिएरै आएको थिएँ । तर, ठूला दलका नेताले अहिले यो नलगाऔं, हाम्रो बेग्लै ड्रेस कोड छ भन्नुभयो ।’

यसैबीच प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । पहिलो बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेका हुन् । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिएको छ । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए ।

लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सांसदहरु आ–आफ्नो स्थानबाट उठे । मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहँदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाए ।

आन्दोलनपछि जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भएका छन् ।

Advertisment