एमाले, माओवादी केन्द्र पार्टी एकता सघन अवस्थामा, सर्त पूरा नभए एकता भंग घोषणा गर्ने तयारीमा माओवादी केन्द्र

 

काठमाण्डौ, २७ माघ ।
एमाले–माओवादी एकता संकटमा परेको आशंका बढिरहेका बेला माओवादी केन्द्रले एकताका लागि तीन सर्त अघि सारेको छ ।
माओवादीले एकताका लागि इतिहासको समीक्षा, पार्टीको पथप्रदर्शक सिद्धान्त र नेता कार्यकर्ताको व्यवस्थापनसम्बन्धी प्रस्तावलाई सर्तका रुपमा राखेको हो ।
यस्ता छन् माओवादीका सर्त
1. इतिहासको समीक्षा
माओवादीले दुई पार्टीबीचको एकताका लागि आफ्नो नेतृत्वमा सञ्चालित १० वर्षे जनयुद्ध एमालेले स्वीकार गर्नुपर्ने सर्त अघि सारेको छ । जनयुद्धको राजनीतिक उपलब्धीलाई अस्वीकार गरेर एकतामा जान नसकिने उसको स्पष्ट अडान छ । माओवादी केन्द्रका एक हेर्डक्वार्टर सदस्यले एमालेले जनयुद्धलाई सकारात्मक रुपमा लिन हिच्किचाइरहेको बताए । मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तथा संविधानसभामार्फत संविधान निर्माण, संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता जनयुद्धकै कारण सम्भव भएको भन्दै त्यसलाई स्वीकार नगरी एकतामा जान नसकिने अडान लिएको उनले जनाए । ‘हामीले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना नगरी नेपालमा राजनीतिक क्रान्ति पूरा हुँदैन भन्दा एमालेले संवैधानिक राजतन्त्र स्वीकार गरेको थियो । पछि उहाँहरु हाम्रै राजनीतिक लाइनमा आउनुभयो’, उनले भने, ‘गणतन्त्र ठीक, गणतन्त्र फाल्न भएको क्रान्ति बेठीक भन्ने हो भने कसरी एकता हुन सक्छ रु’ । उनले दुई दलबीच गत असोजमा भएको भद्र सहमति तथा चुनावी घोषणापत्रमा जनयुद्धलाई स्वीकार गर्ने उल्लेख भएकामा अहिले आएर एमाले पछि हटेको दाबी गरे ।
2. पदप्रदर्शक सिद्धान्त
माओवादीले एमालेको पथप्रदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र आफूहरुको माओवाद दुवै स्थगन गरेर मात्र एकतामा जान सकिने पनि एमाले नेतृत्वलाई स्पष्ट सन्देश दिइसकेको छ । ‘दुई पार्टीको एकता भनेपछि एउटाले आफ्नो सबै छाड्ने र अर्काको अपनाउने भन्ने हुँदैन’, ती नेताले भने, ‘एमालेजति सर्लक्कै राखेर हामी जानु भनेको एकता होइन, बिलय हो ।’ आफूहरुले एकताका लागि माओवाद छाड्न तयार रहेको बताउँदासमेत एमाले नेताहरुले बहुदलीय जनवादबाट टसमस हुन नचाहेको आरोप उनको छ । ‘माक्र्सवाद–लेनिनवाद हामी दुवैको साझा सिद्धान्त हो’, उनले भने, ‘जनताको बहुदलीय जनवाद र माओवाद छाडेर नयाँ आधारमा सहमति खोजौं भन्ने हाम्रो कुरा हो ।’
3. नेता व्यवस्थापन
दुई पार्टीका अध्यक्षमध्ये एकले पार्टी र एकले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिविपरीत एमालेले सबै पद आफैंले राख्न चाहेकाले समस्या जटिल भएको बुझाइ माओवादीको छ । निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी अध्यक्ष बन्ने सहमति भएकामा पछिल्लो समय एमाले त्यसबाट पछि हटेको दाबी माओवादी पक्षको छ । ‘एकता गर्ने भनेपछि स्वाभाविक रुपमा नेता र कार्यकर्ताको व्यवस्थापनको कुरा आउँछ’, उनले भने, ‘पदजति सबै आफैं राखौं र माओवदीलाई गलाएर एमालेमा मिसाऔं भन्ने मनोविज्ञानले एकता हुन दिइरहेको छैन ।’ ती नेताका अनुसार एमाले अध्यक्ष केपी ओलीले विद्या भण्डारीलाई राष्ट्रपति, आफू पार्टी अध्यक्षसहित सरकार प्रमुख, सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् । ‘नेताको व्यवस्थापन एमालेको मात्रै गर्नुपर्ने, हामी चाहिं उहाँहरुलाई अमुक पदमा पु¥याउन सहयोगी मात्र हुने भए एकता हुँदैन’ उनले भने ।

Advertisment