को हुन प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ?

पोखरा २८ माघ । 

नेकपा एमालेका सचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ पार्टीमा भलाद्‍मी र बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनको जन्म २०१४ साल फागुन १ गते गंगाप्रसाद र चिनी गुरुङका छोराका रुपमा गिलुङ गाविस ८, टक्सार (हाल क्होला सोंथार गाउँपालिका ९, टक्सार, लमजुङ  मा भएको हो ।

विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निर्वा्चित भएका थिए ।

उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वा्चित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए ।

बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२र६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए ।

लमजुङमा अत्यन्तै कमजोर अवस्थामा रहेको कम्युनिष्ट राजनीतिको जग बलियो बनाउन गुरुङले बहुदलको आन्दोलनका समयमा निक्कै मिहिनेत गरेका थिए । तर, २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा एमालेले हार भोग्यो ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा लमजुङमा एमालेले जित्न सफल भयो। २०६४ सालको संविधानसभाको निर्वाचनमा गुरुङले कांग्रेस उम्मेदवार घर्तीलाई छ हजारको मतान्तरले हराएका थिए ।

त्यो बेला उनले नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पराजित गरेका थिए । घर्तीले १३ हजार ६ सय ९९ मत ल्याएका थिए । नेकपा एमालेमा जनजातितर्फबाट सचिवको जिम्मेवारीमा पनि रहेका गुरुङ एक पटक मन्त्री पनि भइसकेका छन् । तर, गुरुङ २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भए ।

उनी २०६२र०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए ।

गुरुङले पटक पटक आदिवासी जनजाति महासं‌घको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो ।

गुरुङले पहिलो संविधान सभामा रहँदा आदिवासी जनजाति सभासद् सदस्य रहेको ‘ककस’ पनि नेतृत्व गरिसकेका छन् ।तर, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे ।

Advertisment