प्रधानमन्त्री देउवाले दिए राजीनामा, ओली आजै प्रधानमन्त्री बन्दै

 

काठमाडौं , ३ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरे । सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने उनले बताए । सम्वोधन लगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । त्यसैगरी वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए ।

ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।

बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक(एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।

यसैबीच एमाले संसदीय दलको पहिलो बैठक मध्यान्ह पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । यो बैठकले ओलीलाई संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ ।एमाले संसदीय दलमा ओलीको सुबिधाजनक बहुमत छ । यसअघि बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Advertisment