केपी ओलीलाई बामदेवले दिए चितावनी, भने : एकलौटी चल्यो नसुधरिए पार्टी फुट्न सक्छ

 

काठमाडौं २० फागुन ।
होली खेल्ने बहानामा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुका एक हुल नेता कार्यकर्ता विहीबार वामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए । नरेश शाही, राधिका खतिवडा लगायत झलनाथ माधव गुटका कार्यकर्ताले गौतमलाई राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भन्दै उक्साए । गौतमले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने बताएपछि उनीहरुले उसोभए जेएन कामरेड झलनाथ खनाल लाई सघाउन आग्रह गरेका थिए ।

जवाफमा गौतमले भने अहिले पार्टीमा केपी ओलीको एकलौटी चलेको बेला छ । देखिहाल्नुभयो, प्रदेशका मुख्यमन्त्री छनोटदेखि मन्त्रीसम्म । झलनाथप्रति म सकारात्मक नै छु, तर त्यस्तो वातावरण आउलाजस्तो लाग्दैन ।

आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेले फागुन २२ सम्म आफ्नो उम्मेदवार तय गरिसक्नुपर्ने छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै दोहोरिने अधीक सम्भावना रहेको भनिएका बेला एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनालले आफ्नो लागि लबिङ तीब्र पारिरहेका छन् ।

झलनाथको लबिङ, माधवको मौनता

हालसालै माधव नेपाल र वामदेव गौतमसँग आफ्नो पक्षमा लबिङ गरिदिन आग्रह गरेका पूर्वप्रधानमन्त्री खनालले विहीबारै वामदेवनिकट स्थायी कमिटी सदस्य किरण गुरुङलाई पनि सोही आग्रह गरे ।

स्रोतका अनुसार खनाल स्थायी कमिटीमा आफ्नो पक्षमा बहुमत देखाएर आफूलाई राष्ट्रपति उम्मेदवार बनाउन ओलीमाथि दबाव दिन खोजिरहेका छन् ।

अर्का पूर्वप्रधानमन्त्री माधव नेपालले अहिलेसम्म राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याउने वा अर्को नेतालाई पठाउने भन्नेबारे मुख खोलेका छैनन् ।

पछिल्लो समय केपी ओलीसँग नियमित परामर्शमा रहेका माधव नेपाल अहिले नै खनालको पक्षमा खुल्ने सम्भावना छैन । केपी ओली के चाहान्छन् भनेर बुझेका कारण पनि एमाले नेताहरुले खनाललाई सान्त्वना दिने बाहेक मसक्कै आँटेर खनाललाई नै राष्ट्रपति बनाउँ भन्न चाहेका छैनन् ।

एमालेका एक स्थायी कमिटी सदस्यले भने राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भनेर स्थायी कमिटीमा भोटिङ हुनेवाला छैन । कसको पक्षमा कति नेता छन् भन्ने खासै अर्थ नभएको अवस्थामा कोही बोल्ने देखिँदैन । विद्या भण्डारीलाई नदोहोर्‍याउँ भन्नेमा धेरै नेता सहमत हुन सक्छन् तर पार्टीको मूल नेतृत्व विद्यालाई नै दोहोर्‍याउन बाध्य छ भन्ने हामीले बुझेकाले झलनाथ कमरेडलाई सान्त्वना दिनमात्रै सकिन्छ ।’

Advertisment