पोखराको न्यरोडमा पार्क बन्ने

 

पोखरा, ८ चैत्र ।

पोखरा उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको पोखरा लेखनाथ महानगरपािलका वडा नं. ९ न्यूरोड स्थितको जग्गामा आकर्षक पार्क बनाउने भएको छ ।

समितिको मिति २०७४ फागनु २३ गते बसेको १५४ औं वैठकको निर्णय अनुसार पार्क बनाउन लागिएको समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले जानकारी दिए । सरकारी स्वामित्वमा रहेका कार्यालयहरुले आफ्नो मातहतमा रहेका जग्गाहरुबाट भाडा उठाउने काम मात्रै नभई जनतालाई सुविधा दिनुपनि राज्यको कर्तव्य ठानी नगर विकास समितिले सो जग्गामा पार्क बनाउन लागेको अध्यक्ष श्रेष्ठले बताए । साथै उनले शहर बजारको वीच वीचमा आकस्मिक आपतकालीनका लागि खाली जग्गा आवश्यक हुने भएकाले पनि पार्क बनाउन लागिएको श्रेष्ठले जनाए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ स्थित सभागृह माथि पुरानो यातायातको जग्गा समितिले यातायात कार्यालयलाई आफ्नो स्वामित्वमा रहेको अहिले यातायात कार्यालय भवन रहेको पोखरा –९ कै शान्ति वनवाटिका नजिकको जग्गा दिई सो जग्गा समितिले लिएको थियो ।

समितिको वैठकको निर्णयबाट सो जग्गाको क्षेत्रफल अनुसार जतिसक्दो आकर्षक पार्क बनाउने र सो पार्कभित्र पत्रपत्रिका पढ्ने स्थान समेत बनाइने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । साथै उनले पार्क निर्माणका लागि कार्यालयको तर्फबाट जग्गाको नापजाँच र डिजाइन भइरहेको समेत जनाए ।

Advertisment