तनहुंका तमुको पोखरामा रजत जयन्ती

पोखरा, १३ बैशाख, पोखरा १० नहरमार्गस्थित तनहु तमु समाज पोखराले रजत जयन्ती समारोह सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रमका वरिष्ठ कलाकार आलोक तमु, समाजका विशेष सहयोग गर्नुभएका सहयोगदाताहरु, रजत जयन्तीको अवसरमा आयोजित विविध प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत, विविध साँस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य सहित दिवाभोज गरी रजत जयन्ती समारोह सम्पन्न गरिएको हो।

समाज भवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले रजत जयन्ती वर्षको शुभकामना व्यक्त गर्नुहुदै तमुहरुका विवाह, पितृभोजमा मात्रै होइन अधिकार प्राप्तिका लागि पनि जुट्नुपर्ने बताउनुभयो।आन्दोलनबाट ल्होछारमा सार्वजनिक विदा प्राप्त गरे पनि अहिलेको सरकारले विदा कटौति गरेकाले तमुहरु जागरुक बन्दै ल्होछारमा सार्वजनिक विदा दिलाउन आन्दोलित हुनुपर्ने बताउनुभयो।तमु लगायत यस प्रदेशको समृद्धिका लागि प्रदेशको नामाकरण तमुवान हुनुपर्नेमा जोड दिनुभयो।एकल राज्य सत्ता र हिन्दु अधिराज्यले महिलाहरुमाथि विभेद गरिदै आएकाले तमुहरुले महिला र पुरुष समान हुन भन्ने व्यवहार गर्न उहाँको आग्रह थियो। तमुहरुको एकताका लागि तमु धिं नेपालमा आवद्ध हुन समाजहरुलाई आग्रह गर्दै समाजका सदस्यहरुमा कुनै समस्या भए समाजको अध्यक्ष मार्फत तमु धिं नेपालले समाधान गर्न पहल गरिरहेको बताउनुभयो।

तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकतामा जोड दिनुभयो । उहाँले राज्यले तमु लगायत आदिवासी जनजाति समुदाय माथि विभेद गरिरहेकाले एकतावद्ध रुपमा जागरुक बन्नुपर्ने बताउनुभयो। तमु जातिको ऐतिहासिक स्थल क्होला सोंथरको राज्यले उचित सम्बोधन गर्न नचाहेको आरोप लगाउनुहुदै तमु जातिको मौलिकता संरक्षण, एकता प्रदर्शन, विभेद अन्त्य गर्दै समानता प्राप्त गर्न तमुवान प्रदेश प्राप्ति गर्नुपर्ने बताउनुभयो ।

तमु समाजहरुको तर्फबाट शुभकामना व्यक्त गर्नुहुदै सोंपाल तमु समाजका अध्यक्ष मेजर लक्ष्मीप्रसाद तमुले तमुहरु र भुपू सैनिकहरुको एकताबद्ध अभियान बढाउन सके पोखरा सबृद्ध बनाउन सघाउन पुग्ने दावी गर्नुभयो।

समाजका अध्यक्ष क्या।सुकबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार हर्कबहादुर तमुले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै समाजको ऐतिहासिकताको जानकारी गराउनुभयो भने सहसचिव चुनबहादुर तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।कार्यक्रममा सम्मानित, पुरस्कृतहरुलाई प्रमुख अतिथि कर्म तमु, समाजका अध्यक्ष क्या।सुकबहादुर तमुले सम्मान र पुरस्कृत गर्नुभएको थियो।

Advertisment