गणेशबहादुर गुरुङःविगत र वर्तमान(स्मरण ग्रन्थ)लोकार्पण क्याबिनेटभन्दा गणेश सर प्रियः मन्त्री अधिकारी

पोखरा, १४ बैशाख, पुर्व क्याम्पुस प्रमुख, शिक्षाविद गणेशबहादुर गुरुङका बारेमा ९८ जनाको लेख संग्रहित गणेशबहादुर गुरुङःविगत र वर्तमान(स्मरण ग्रन्थ) शुक्रवार पोखरा लोकार्पण गरिएको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीले लोकार्पण गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि गणेशबहादुर गुरुङकै विद्यार्थी मन्त्री रबिन्द्र अधिकारीले क्याविनेट भन्दा गणेश सर प्रिय भएको बताउनुभयो। गणेश सरहरुकै कारण आफु क्याविनेटमा पुगेकाले क्याविनेटलाई केही ढिला गरेर भए पनि हतार हतार कार्यक्रममा सहभागी भएको बताउनुभयो। उहाँले गुरुको बारेमा लिखित ग्रन्थको लोकार्पण गर्न पाउने आफु भाग्यशाली भएको बताउनुहुदै यो दिन जिवनकै अविष्मरणीय भएको बताउनुभयो। स्मरण ग्रन्थले गणेश सरलाई पाठकले चिन्ने अवसर मात्रै नभएर व्यक्तित्व विकास गर्न चाहनेका लागि पढ्नै पर्ने पुस्तक भएको मन्त्री अधिकारीको दावी थियो।

पृथ्वीनारायण क्याम्पसको संस्थापक क्याम्पस प्रमुख जोर्ज जोड सरलाई सुनेर आफु प्रभावित भएको भने गणेश सरसँग व्यवहारमा भोगेरै प्रभावित भएको भन्दै प्रसंशा गर्नुभयो। गणेशबहादुर गुरुङको उदाहरणीय टिम स्पिरिट, आफ्नो कुरामा अडिग, सच्चा अभिभावक, समन्वयकारी प्रसासक, सरल व्यक्तित्व, विद्यार्थीलाई सम्झाउने क्षमता पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी नेता रहदा नजिकबाटै बुझ्ने अवसर पाएको अधिकारीले बताउनुभयो ।आन्दोलनमा विद्यार्थीले थुनेर राख्दा पनि तत्कालिन अञ्चलाधिस, सिडियोलाई विद्यार्थीले अत्यन्तै माया गरी विचमा राखेका भन्नुहुन्थ्यो भन्नुहुदै मन्त्री अधिकारीले २०४६ सालको जनआन्दोलनमा क्याम्पस प्रमुख गणेश सरकै फोनबाट सुचना दिने काम गरेको खुलासा गर्नुभयो। आफु पक्राउ पर्दा पार्टीको र्सकुलर साथमै रहदा गणेशबहादुर गुरुङ सरलाई बुझाएर पार्टीको गोपनियता जोगाएको र जेलबाट छुट्ने वित्तिकै गणेश सरले जस्ताको तस्तै आफुलाई बुझाएको प्रसंग सुनाउनुहुदै इमान्दारीता, गोपनियता, अभिभावकत्वको प्रसंसा गर्नुभयो ।

गणेशबहादुर गुरुङले स्मरण ग्रन्थ प्रकाशनले आफु उत्साहित भएको बताउनुहुदै सबैको माया र सद्भावको कोशेली प्राप्त गरेको अनुभव भएको बताउनुभयो । स्मरण ग्रन्थमा मेरो बारेमा कलम चलाउनुभएका लेखकहरुप्रति आभार व्यक्त गर्नुहुदै समाजमा आफ्नो मुल्यांकन कसरी गरिदो रहेछ भन्ने छल्र्लङग भएको उहाँको भनाई थियो ।

शेरबहादुर गुरुङ तथा पुर्णकुमारी गुरुङ अक्षयकोष, राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसद्धारा प्रकाशित तथा आयोजित कार्यक्रममा पुस्तकको बारेमा प्रा.डा.यमबहादुर पौडेल र प्रा.डा.ज्ञानबहादुर कार्कीले समिक्षात्मक टिप्पणी गर्नुहुदै स्मरण ग्रन्थले गणेशबहादुर गुरुङको उत्खनन गरेको बताउनुभयो।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.चन्द्रबहादुर थापाले शुभकामना व्यक्त गर्नुहुदै आफुलाई पृथ्वीनारायण क्याम्पसमा गणेशबहादुर गुरुङले प्रवेश गराउनुभएको भन्दै उहाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो।

प्रदेश सांसद विन्दुकुमार थापाले शुभकामना व्यक्त गर्नु हुदै शिक्षाविद गणेशबहादुर गुरुङका बारेमा प्रकाशित पुस्तकले शिक्षाको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले प्रदेश नं. ४ लाई शिक्षा र पर्यटनको उत्कृष्ठ एवं नमुना प्रदेश बनाउने बताउनुभयो ।

तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङ शुभकामना व्यक्त गर्नुृहुदै राजालाई देश भित्र मात्रै सम्मान गर्छन भने विद्धान व्यक्तित्व संसारभर पुज्य हुने बताउनुभयो। उहाँले गणेशबहादुर गुरुङ सबैको असल अभिभावक, पथप्रदर्शक रहनुभएको बताउनुभयो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले नामले मात्रै गणेश नभई कामले पनि गणेश भएको बताउनुभयो। गणेशबहादुर गुरुङको सहनशीलता अनुकरणीय रहेको बताउनुहुदै उहाँकै सल्लाह सुझावले तमु धिं नेपाल र तमु संघ संस्थाहरुले अग्रगति लिइरहेको बताउनुभयो ।

पुर्व क्याम्पस प्रमुख जोर्ज जोनले शुभकामना व्यक्त गर्नुहुदै आफु पोखरामा आउदा गणेश गुरुङ असल सहयोगी रुपमा पाएको बताउनुभयो ।

पुर्व क्याम्पस प्रमुख प्रा.डा.दिलबहादुर क्षत्रीले गणेशबहादुर गुरुङको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो ।

शेरबहादुर गुरुङ तथा पुर्णकुमारी गुरुङ अक्षयकोष, राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसद्धारा आयोजित कार्यक्रममा सम्पादन मण्डलका सदस्य डा.दीर्घमान गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पृथ्वीनारायण क्यामपस राजनीतिक विभागका अध्यक्ष डा.उमानाथ बरालको अध्यक्षता र डा. गिरीधारी दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

पर्वत जिल्लाको चारभञ्ज्याङ,साविक ठानामौला गाविस हाल फलेवास नगरपालिका वडा नं. ८ ठानामा ८० वर्ष अघि जन्मुनुभएका गणेशबहादुर गुरुङको बारेमा लेखिएको स्मरण ग्रन्थमा ९१ वटा नेपाली लेखहरु, ७ वटा अग्रेजी भाषामा लेख, संयुक्त राष्ट्र संघमा दिनुभएको मन्तव्य सहित विभिन्न अभिन्न्दन, सम्मानपत्र, महत्वपुर्ण कार्यक्रमका तस्वीरहरु समावेश गरिएका छन् ।

Advertisment