सबै धर्मलाई कांग्रेसले उत्तिकै सम्मान गर्छ – देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एबं पुर्बप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताएका छन । मुस्लिम संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै देउवाले सबै धर्मलाई कांग्रेसले उत्तिकै सम्मान गर्ने भन्दै नयाँ संरचना अनुसार मुस्लिम समूदायको समेत प्रतिनिधित्व बढाउन जोड दिइने बताएका हुन ।

‘नयाँ संरचना अनुसार पार्टीको विधान संसोधन हुने तयारीमा छ, संसोधन मार्फत मुस्लिम समूदायको पनि आरक्षणको व्यवस्था हुन्छ,’ सभापति देउवाले भने । देउवाले मुस्लि समुदायले नेपालका आर्थिक, सामाजिक र राजनीतिक लगायतका परिवर्तनहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पार्टीले त्यसको मुल्यांकन गरेको समेत बताएका थिए । उनले पार्टीको महासमिति बैठक पनि छिट्टै बोलाइने तयारी भइरहेको बताए ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले मुस्लिम धर्माबलम्बीको सम्मानपूर्ण प्रतिनिधित्वका लागि कांग्रेस प्रतिवद्ध रहेको बताए ।

महामन्त्री डा शशांक कोइरालाले पार्टीले हारको सामना गरिरहेका बेला मुस्लिम संघको साथको आवश्यकता रहेको बताए ।

उद्घाटन समारोहमा मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले वर्तमान सरकारले मुस्लिम धर्मावलम्बीहरुको विदा कटौती गरेको प्रति आपत्ति जनाए । उनले पार्टीले समेत आरक्षणको व्यवस्थामा मुस्लिम समुदायलाई विभेद गरेको भन्दै आपत्ति जनाएका थिए । विधान संसोधन मार्फत मुस्लिम समूदायको प्रतिनिधित्व बढाउनु पर्ने भन्दै सतारले नेतृत्वको ध्यानाकर्षण गराएका छन ।

दोस्रो केन्द्रीय महाधिवेशनबाट मुस्लिम संघ नेपालको नयाँ कार्यसमिति चयन हुँदै छ । महाधिवेशन आइतबासम्म चल्ने संघका वरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्धिनले जानकारी दिए ।

Advertisment