बिदा कटौती विरुद्ध पोखराका गुरुङ, सरकार बिरुद्ध आन्दोलन गर्ने

पोखरा, २१ बैशाख

तमु जातिको नयाँवर्ष ल्होछार विदा कटौतीको विरुद्ध तमु धिं नेपालले आन्दोलित हुने भएको छ ।संघर्ष गरी ल्होछारमा प्राप्त एक दिन सार्वजनिक विदा पनि कटौती गरी तमु जातिको नयाँवर्ष अथवा पर्वको अपमान गरेको भन्दै तमु धिं नेपालले विदा कटौती विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।

विभेदमा पारिएको महसुस गरेका जनता, समुदाय, क्षेत्र, लिंग, वर्गलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक सरकारले अधिकार प्रदान गर्ला र सेवा सुविधा थपिदै जाला भनेको त ल्होछारमा प्राप्त विदा पनि कटौती गर्नु दुखदायी भएको भन्दै आन्दोलनबाटै गुमेको विदा स्थापित गर्ने तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको भनाई थियो।चाडपर्व विदा कटौतीको नाममा ल्होछार विदा कटौती गरिनु तमु जातिकै घाँटी निमोठे जस्तो हो, हामी सहन सक्दैनौं, आन्दोलनबाटै हिसाव किताव गर्ने उहाँको चेतावनी थियो।

ल्होछार विदा कटौती फिर्ता गर्न सरकारसँग माग गर्दछौं, हाम्रो अपेक्षा छ सरकारले सुन्नेछ, यदि सुन्दैन भने आन्दोलन गर्न बाध्य हुने अध्यक्ष तमुको भनाई थियो । हामी शान्तिप्रिय हौ।,शान्तिपुर्ण आन्दोलन गर्ने छौं, तर बाध्य भए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उहाँको चेतावनी थियो। ल्होछार विदाका लागि आन्दोलनका लागि अन्य तमु संघ संस्था र विभिन्न समुदायसँग छलफल अघि बढाउनेले अध्यक्ष कर्म तमुले बताउनुभयो।

यसरी नै तमु धिं नेपालले आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा तमु धिं नेपाललाई विशेष योगदा पुर्याउनुभएका व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

आउदो जेठ पाँच गते स्थापना दिवसको अवसरमा तमु धिं नेपालका पुर्व व्यवस्थापन संयोजक तथा तमु सेवा समिति नयाँबजारका पुर्व अध्यक्ष पदमबहादुर गुरुङ, नापी कार्यालयमा कार्यरत तमु धिं नेपालको आजीवन सदस्य हुमबहादुर गुरुङ, पुर्व सभासद डिवी नेपाली र यसरी नै बौद्ध शिक्षामा विद्यावारिधी गर्नुभएका बौद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो सिर लामा गुरुङलाई सम्मान गर्ने निर्णय भएको महासचिव गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो।

Advertisment