राष्ट्रिय सहकारी बैंकको शाखा उद्घाटन

नेपालको तिव्र विकासका लागि सहकारी माध्यम उपयुक्त ः मन्त्री साह
महोत्तरी, २३ बैशाख
प्रदेश नंं. २ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्दकुमार साहले नेपाल जस्तो मुलुकको तिब्र आर्थिक विकासका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारी क्षेत्रलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
महोत्तरी जिल्लाको बर्दिवासमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४० औं शाखको आइतवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
देशमा धेरै स्रोतहरु खेर गैरहेका छन्, तर देशको जनशक्ति काम नपाएर विदेश जानु पर्ने अवस्था छ, यस्तो अवस्थाको अन्त्यका लागि सहकारी क्षेत्रलाई स्थानीय स्रोतको पहिचान, परिचालन तथा उत्पादन र प्रशोधनमा लगाउनु पर्ने भन्दै उहाँले त्यसका लागि सहकारी क्षेत्रमा शुद्धिकरण आवश्यक हुने धारणा राख्नु भयो । उहाँले सहकारीले विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीमैत्री ऐन निर्माणमा आफुहरु जुटेको समेत बताउनु भयो ।
कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की, उखु उत्पादक केन्द्रिय सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामचन्द्र कुशवाह, बैंकका प्रवन्धक सञ्चालक के.बी. उप्रेती, सञ्चालक रामशरण शर्मा घिमिरे, जिल्ला बचत तथा ऋण सहकारी संघ घनुषाका अध्यक्ष धु्रव नारायण यादव, जिल्ला बचत तथा ऋण सहकारी संघ महोत्तरीका अध्यक्ष कृष्ण बहादुर सिंह, राष्ट्रिय सहकारी बैंक राजविराज शाखा समन्वय उपसमितिका संयोजक विश्वनाथ मण्डल, बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्य तथा सिन्धुली शाखाका शाखा प्रमुख सन्तोष ढकाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । वक्ताहरुले राज्यले विपन्न वर्गका जनताको उत्थानका लागि लगानी गर्ने सम्पूर्ण रकम सहकारी बैंक मार्फत परिचालनका लागि स्पष्ट नीति बनाउन आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन बैंकका सञ्चालक हरिहरनाथ योगी र स्वागत बर्दिवास शाखाका प्रमुख लोकेन्द्र केसीले गर्नु भएको थियो ।
राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट यस आर्थिक वर्षमा ७ वटा थप शाखा सञ्चालनको अनुमति पाएको छ । बैशाख १४ गते पाँचथरको फिदिम र बैशाख २२ गते सर्लाहीको हरिवनमा शाखा उद्घाटन भइसकेको छ भने धनकुटाको धनकुटार बजार, चितवन जिल्लाको भरतपुर, नवलपरासी जिल्लाको कावासोती र नवलपुर जिल्लाको बर्दघाटमा यसै आर्थिक वर्षमा शाखा उद्घाटन गरिने बैंकका सञ्चालक एवं सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिनुभयो ।
मुख्य शाखा सहित ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्न लागेको बैंकमा १४ अर्ब निक्षेप, ११ अर्ब लगानी र १६ अर्बको कुल कारोबार रहेको प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

Advertisment