तमुवान—मगराँत प्रदेश नामाकरणका लागि बृहत धर्ना

नाम नपाए समानान्तर प्रदेश सरकार सञ्चालन गर्ने चेतावनी /

हुम तमु, पोखरा,१० असार, पहिचानको सम्मान नभए तमुवान—मगराँत संघर्ष समितिले समानान्तर प्रदेश सरकार सञ्चालन गर्ने चेतावनी दिएको छ।प्रदेश नं.४ को नाम तमुवान—मगराँत नामाकरणसहित विभिन्न माग गर्दै प्रदेश नं. ४ प्रदेश सभा प्रवेश मार्ग पोखरा ३ नदिपुरस्थित बालमन्दिर चोकमा आयोजित बृहत धर्ना कार्यक्रमका वक्ताहरुले पहिचानको सम्मान नभए आफै प्रदेशको नामाकरणसहित प्रदेश सरकार र प्रदेश सभा सञ्चालन गर्ने चेतावनी दिएका हुन। प्रदेश सभामा आइतवारदेखि प्रदेश नामाकरणको बारेमा छलफल शुरु हुने भए पछि संघर्ष समितिले तमुवान—मगराँत नामकरणसहितका माग सम्बोधन गराउन दवाव स्वरुप बृहत धर्ना कार्यक्रम आयोजना गरेको हो।

संघर्ष समितिकी संयोजक तथा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफुहरुले पहिचानको सम्मान गर्न आग्रह गरिरहदा संघीयता र राज्यको पुनसंरचनाको मर्मलाई अपमान गरे प्रदेशको नाम आन्दोलनबाटै घोषणा गर्दै प्रदेश सरकार र प्रदेश सभा सञ्चालन गर्ने चेतावनी दिनुभयो। जनताको आवाज छेक्नका लागि निषेधित क्षेत्र तोक्ने कायरहरु आदिवासी जनजातिको संयमतालाई कमजोरी ठाने निषेधित क्षेत्र तोड्ने चेतावनी दिनुभयो। राष्ट्रियताको सम्मान हुनुपर्यो, पहिचानको सम्बोधन गर भन्दा साम्प्रदायिकता देख्ने एकल जातिय राज्य संरचना तोड्दै समतामुलक समाजको लागि आफुहरु संघर्षरतको उहाँको भनाई थियो।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रदेश संयोजक दलबहादुर गुरुङले माग सम्बोधन नभए प्रदेश सभा कब्जा गर्ने चेतावनी दिनुभयो। तमुवान—मगराँत प्रदेश नामाकरणका माग पहिचानको सम्बोधन र एकल जातिय राज्य तोड्न हो भन्नुहुदै पहिचानका विरुद्ध गद्धारी नगर्न आदिवासी जनजाति प्रदेश सभा सदस्य तथा नेताहरुलाई चेतावनी दिनुभयो।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले संघीयता र राज्य पुनसंरचनाको मर्म र आधारको सम्मान गर्न आग्रह गर्नुहुदै तमुवान—मगराँत प्रदेश नामाकरण नगरिए सत्ताको अभ्यास आफै गर्ने चेतावनी दिनुभयो। एकल जातिय राज्यले नाम, गाम, ठाम, पहिचान र अधिकार गुमाउदै गई अस्तित्व नै संकटमा पर्न गएकाले आफुहरु बाध्य भई पहिचानका लागि सडकमा ओर्लनुपरेको बताउनुहुदै आफुहरु अस्तित्वका लागि अन्तिम लडाई लड्न तयार रहेको बताउनुभयो।

तमुवान युथ भोलिन्टियर्सका संयोजक कृष्णकुमार गुरुङले गुमेको इतिहासको सम्मानका लागि तमुवान—मगराँत नामाकरण गर्नुपर्ने बताउनुभयो। प्रदेश सभा सदस्य, मन्त्री, मुख्य मन्त्री र पार्टी नेताको स्वार्थमा पहिचानको अधिकार लुटिदै गएमा कसैलाई पनि छुट नदिने चेतावनी दिनुभयो।

आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङले संघीयता र राज्यको पुनंसंरचना विगतदेखि विभेदमा पारिदै आएका आदिवासी जनजाति लगायत उत्पिडित वर्ग समुदायको माग हो यस्को सम्मान हुनुपर्दछ भन्नुभयो। उहाँले तमुवान—मगराँत नामाकरण सभ्यता संरक्षण्का लागि हो भन्दै सरकारले आदिवासी जनजातिका चाडपर्वमा दिएको विदा कटौती एकल जातिय राज्यको नमुना भएको भन्दै आपत्ति जनाउनुभयो।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगरले अहिले सम्मको एकल जातिय राज्य तोड्दै समतामुलक पहिचानको सम्मान हुने तमुवान—मगराँत प्रदेश नामाकरण गर्न आग्रह गर्नुभयो। पहिचान, अधिकार, प्राप्त विदा कटौती गरिदै गए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिनुभयो।

ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर गुरुङले अधिकार खोस्न पल्केकाहरुलाई खवरदारी गर्नुहुदै प्रदेश नामाकरणमा पहिचान नखोस्न चेतावनी दिनुभयो। तमुवान—मगराँत नामाकरण नगरिए प्रदेशको आफुहरुले नै घोषणा गर्दै सत्ता सञ्चालन गर्न बताउनुभयो।

तमु प्ये ल्हु संघ कास्कीकी सचिव विष्णु गुरुङले शान्तिपुर्ण आन्दोलनबाटै आफ्ना माग सम्बोधन नभए सशत्र आन्दोलन गर्न पनि पछि नहट्ने चेतावनी दिनुभयो।

कार्यक्रममा तमुवान साँस्कृतिक परिवारका चन्द्र मुस्कान, सनम तामाङले तमुवान गीत प्रस्तुत गर्नुभएको थियो भने खिलाङ तमु समाज, चिउली पार्चे तमु समाज, चिसापानी टोल समाजले नृत्य, सु.जसबहादुर गुरुङले कविता प्रस्तुत गर्नुभएको थियो।

बृहत धर्ना कार्यक्रममा तमुवान—मगराँत प्रदेश नामाकरण गर, आदिवासी जनजातिका चाडपर्वमा प्राप्त विदा कटौती गर्न पाइदैन, जनजातिका भाषालाई सरकारी कामकाजको भाषा बनाउ, आइ एल ओ १६९ कार्यन्वयन गर लगायतका नारा लगाइएको थियो।

तमुवान—मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा सचिव आस गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Advertisment