पहिचानको आन्दोलनमा मेरो ऐक्यवद्धताः सांसद गुरुङ

तमुवान प्राप्तिका लागि सहिद हुन तयार छुः सांसद आचार्य

हुम तमु, पोखरा, २९ साउन \ तमु समुदायको परम्परागत साँस्कृतिक एवं मौलिक पहिचानको पर्व ट्होटें मंगलवार तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाइएको छ। पोखरा १ बगर, पुरानो टुडिखेलमा पितृ र प्रकृतिको पुजा गर्दै सुरु भएको उधौली ट्होटें र्याली बागबजार, विन्दवासिनी भैरबटोल, नालाको मुख, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा समारोह गरी ट्होटें मनाएको हो। नेकपाले नेपाल बन्द आव्हान गरेकै दिन परेको ट्होटें र्यालीमा मौलिक भेषभुषा, बाजागाजा, झाँकी र साँस्कृतिक प्रस्तुतिसहित तमु लगायत आदिवासी जनजातिहरुको बृहत सहभागिता रहेको थियो।

टुडिखेलमा धुप हाल्दै ट्होटें र्यालीको प्रारम्भ र तमु धिं नेपालमा आयोजित ट्होटें समारोहको दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएका कार्यक्रमका प्रमुख अतिथि प्रदेस सांसद मनबहादुर गुरुङले ट्होटें पर्वको शुभकामना व्यक्त गर्नुहुदै बैरी धपाउने साँस्कृतिक पर्वले सबै खाले बैरीहरुलाई परास्त गर्दै जाने बताउनुभयो। तमु धिं नेपाल लगायत आदिवासी जनजातिहरुले तमुवानको माग, पहिचानको सम्बोधन, अधिकारको सुनिश्चिताका लागि माग मात्रै नभएर आन्दोलित भइरहदा आफुले पनि पार्टी भित्र तमु लगायत आदिवासी जनजातिको आवाज आफुले उठाएको जानकारी दिनुभयो। प्रदेस समृद्ध बनाउन प्रदेश नामाकरणमा गण्डकी मात्रै होइन गण्डकी तमुवान मगराँत नामाकरणका लागि संघर्ष गरे पनि सुनुवाई हुननसकेको भन्दै दुखेसो गर्नुभयो। पहिचानसहितको नामाकरणका लागि पहिचानको ५ र सामथ्र्यको ४ आधारले प्रष्ट निर्देश गरे पनि दुई तिहाईको नाउमा तमु लगायत आदिवासी जनजातिको भावनाको प्रदेश सभाले सम्बोधन हुन नसकेको भन्नुहुदै तमुवान—मगराँत प्राप्तिका लागि आन्दोलन जारी राख्नुपर्ने उहाँको सुझाव थियो। तमु धिं लगायत आदिवासी जनजातिले नामाकरणमा उठाएको माग जायज, सान्दर्भिक र आवाश्यक थियो भन्नुहुदै पहिचानको आन्दोलनप्रति सांसद गुरुङले ऐक्यवद्धता जनाउनुभयो। संघीय सरकारले आदिवासी जनजातिको चाडपर्व विदा कटौती गरेकोमा आक्रोश व्यक्त गर्नुहुदै प्रदेश सरकारमार्फत आगामी दिनमा ल्होछार र विश्व आदिवासी दिवसमा विदाका लागि पहल गर्ने उहाँको भनाई थियो। यस प्रदेशमा सरकारी कामकाजको भाषा तमु, मगर, तामाङ हुनुपर्नेमा जोड दिनुभयो।

विशेष अतिथि प्रदेश सांसद हरिशरण आचार्यले ट्होटेंको शुभकामना व्यक्त गर्नुहुदै असार २२ गते प्रदेश सभाले पहिचानसहितका संघीयताको अन्त्य गर्दै गण्डकी नामाकरण गर्न एकतावद्ध संघर्ष जरुरी रहेको बताउनुभयो। आफुहरु सत्यताको पक्षमा यस प्रदेशलाई तमुवान नामाकरण गर्नुपर्ने पक्षमा प्रदेशमा एक्लो बनेको सुनाउनुहुदै तमुवानका लागि आवाश्यक परे सहिद हुन तयार रहेको घोषणा गर्नुभयो। उहाँले थप्नुभयो, खोसिएको अधिकार प्राप्तिका लागि निरन्तर संघर्षरत रहने बताउनुहुदै जगमान गुरुङ, किरण गुरुङहरु तमुवान प्राप्तिका विरुद्ध लागेकाले गुरुङ भन्न नसकिने बताउनुभयो।

प्रहरी नायव महानिरीक्षक दानसिंह बोहोराले तमु लगायत आदिवासी जनजातिहरुले उठाउदै आएको आइ एल ओ १६९ र नेपालको संविधानले प्रदान गरेको अधिकार प्राप्त होस भन्दै ट्होटेंको शुभकामना व्यक्त गर्नुभयो।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुवान—मगराँतको पहिचान अधिकार प्राप्तिका लागि निरन्तर आन्दोलन आवाश्यक रहेको भन्नुहुदै आदिवासी जनजातिलाई एकतावद्ध हुनु आग्रह गर्नुभयो। उहाँले आन्दोलन मात्रै नभएर कार्यकारी पदमा आदिवासी जनजातिको प्रवेशलाई विशेष सोंच बनाउनुपर्नेमा जोड दिनुभयो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु लगायत आदिवासी जनजातिलाई पहिचान, अधिकार प्राप्ति, प्रतिनीधित्वको सुनिश्चितता र पहुँचमा नपुग्दासम्म समतामुलक समाज निर्माण हुन नसक्ने दावी गर्नुभयो। विभेद अन्त्य, सबैको सम्मानसहितको राज्य व्यवस्था र पहिचानको सम्मान गर्दै तमुवान—मगराँत प्रदेश नामाकरण नगर्दासम्म आन्दोलन जारी रहने बताउनुभयो। पहिचानको आन्दोलनलाई केही तमु र आदिवासी जनजाति प्रतिनीधिहरुले नै कमजोर बनाएकाले बहिष्कार समेत गरेकोले तमुवान—मगराँत संघर्ष समितिको उक्त निर्णयलाई कार्यन्वयनका लागि आग्रह गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै ट्होटेंका संयोजक कृष्णकुमार गुरुङले बैरी धपाउने ट्होटें पर्वले तमु लगायत आदिवासी जनजातिलाई विभेद गर्ने, पहिचान मेटाउन खोज्ने, अधिकारबाट बञ्चित गराउन खोज्ने मानसिकता नै प्रमुख बैरी भएकाले त्यस्तो मानसिकताको ट्होटेंले अन्त्य गरोस भन्नुभयो। लोकतन्त्रको सबै मतको सुनुवाई हुनुपर्नेमा त्यसको विपरित दुइतिहाईको नाउमा अधिनायकत्व हावी भएकाले तमुवान—मगराँतको पहिचान नामेट गर्न खोजेको भन्दै खवरदारी गर्नुभयो। पहिचान मेटाउन खोज्नेहरु संघीयता असफल बनाउन षडयन्त्र गरिरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षता र महासचिव गिरी प्रसाद गुरुङले संचालन गर्नुभएको समारोहमा ह्वाइट लोटस स्टुडियोका प्रवन्ध निर्देशक युग गुरुङ समेत बोल्नुभएको थियो भने जनआन्दोलनका घाइते लिला गुरुङलाई तमु समाज बेल्जियमले संकलित गरेको १ लाख ५९ हजार २०५ रुपैया पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको मार्फत प्रमुख अतिथि साँसद मनबहादुर गुरुङले हस्तान्तरण गर्नुभएको थियो। यसरी नै गोर्खा धार्चे गाउपालिका ५ गुम्दाका पुर्णबहादुर र पुर्णी गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारत ११ वर्षिय छोरा सुरज गुरुङलाइृ तमु धिं नेपालको तर्फबाट १५ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा स्टार्स स्टुडियो, दुधपोखरी तमु समाज, चिउलीपार्चे तमु समाज, आँधी खोला तमु समाज, पैयुखोला तमु समाज र हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गर्दै मनोरञ्जन दिलाएका थिए।

ट्होटेंमा तमु धिं नेपालका कार्यसमिति सदस्य नारायण गुरुङ र लायन्स क्लव अफ पोखरा पीस भ्यालीले खानेपानी प्रायोजन गरेको थियो।

कार्यक्रमका लागि तमु धिं युकेले ५० हजार रुपैया प्रायोजन गरेको थियो भने ओम डेभलपमेण्ट बैकले पुरस्कारका लागि आवाश्यक खर्च प्रायोजन गरेको थियो।

उक्त कार्यक्रममा सहयोगी संस्था ओम डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र प्रहरी निरीक्षकबाट नायक उपरीक्षकमा बढुवा हुनुभएका रविन्द्रमान गुरुङलाई सम्मान गरिएको थियो।

ट्होटें र्यालीमा चिउली पार्चे प्रथम

तमु धिं नेपालद्धारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम हुदै पुरस्कृत भएको छ। प्रथम हुदै चिउली पार्चेले १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भयो।

र्यालीमा दुधपोखरी दोश्रो हुदै १० हजारसहित ट्रफी, तेश्रो भएको फूलवारी ५ हजारसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत बन्यो।

यसरी नै बगर, याङजाकोट र तनहु तमु समाज सान्त्वना हुदै जनही ३ हजार र प्रमाणपत्र प्राप्त गरे भने झोरा प्रस्तुत गरेको आँधीखोला तमु समाजलाई ३ हजार नगदसहित प्रमख अतिथि सांसद गुरुङ, ओम डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पुरस्कृत गर्नुभएको थियो।

ट्होटे र्यालीको नतिजा मुल्यांकन समितिकी संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले घोषणा गर्नुभएको थियो। मुल्यांकनका लागि तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी गुरुङको संयोजकत्वमा सल्लाहकार डा.दीर्घमान गुरुङ, कोषाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र साँस्कृतिक समिति सचिव श्रीजंग गुरुङ रहेको समिति गठन गरिएको थियो।

Advertisment