पोखरा उद्योग वाणिज्य संघको चुनावमा विद्युतिय भोटिङ मेसिनको प्रयोग गर्ने

 

भुपाल गुरुङ,
पोखरा, ३० भदौ ।

पोखरा उद्योग वाणिज्य संघको असोज ५ र ६ गते हुने चुनावमा विद्युतिय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको २६ औँ महाधिवेशन निर्वाचन कमिटिले शनिबार पत्रकार सम्मेलन गरि ईभोटिङ बारे जानकारी दिएको छ । निर्वाचन कमिटिका संयोजक तिर्थ श्रेष्ठका अनुसार महाधिवेशनमा ३ वटा मतदान केन्द्र बाहिर मतदाता शिक्षाका लागि र १९ वटा भोटिङ मेसिन मतदान केन्द्रमा प्रयोग गरिने बताए ।

उनले चुनावलाई छिटो, छरितो र विश्वासनिय रुपमा सम्पन्न गर्न इभोटिङ मेसिनको प्रयोग गर्न लागिएको बताए । मतदान प्रकृया सम्पन्न भएको केहि समयमै नातिजा थाहा हुने भएकाले पनि यसको प्रभावकारीता बढेको श्रेष्ठको भनाई छ ।

रामलक्ष्मण इनोभेसन्स कम्पनीले विद्युतिय भोटिङ मेसिनको जिम्मेवारी लिएको छ । कम्पनीका संचालक लक्ष्मण रिमालले विद्युतिय भोटिङ मेसिन मार्फत मतदान गर्न एक मतदातालाई बढिमा तिन मिनेट लाग्ने बताए । नेपालमा विद्युतिय भोटिङ मेसिनको प्रयोग बढ्दै गएको भन्दै विश्वासनियता समेत बढाएको बताए ।

विद्युतिय भोटिङमा नो भोटिङ अधिकार हुने भए पनि मत बदर भने हुदैन । करिव ३५ सय मतदाता रहेको पोखरा उद्योग वाणिज्य संघको चुनावमा लोकतान्त्रिक प्यानल र समावेशी प्यानल गरि दुई प्यानल चुनावमा होमिएका छन् । लोकतान्त्रिक प्यानलको अध्यक्षमा रविन्सन प्रजु रहेका छन भने समावेशी प्यानलको अध्यक्षमा दामु अधिकारीको उम्मेदवारी परेको छ ।

Advertisment