पोखराको वडा ८ बाट पनि राजस्व संकलन सुरु

पोखरा १४ असोज । पोखरा महानगरपालिकाले वडा नम्बर ८ ले पनि राजस्व संकलन कार्य सुरु गरेको छ । वडाबाटै घर जग्गा, सम्पत्ति कर तथा नक्सापास सेवाको शुभारम्भ महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो ।

आइतबार वडा कार्यालय पुगेका पहिलो करदाता पोखरा—५ का लक्ष्मी कौशले तिरेको करको रसिद हस्तान्तरण गदै शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न वडाबाटै कर संलकन सुरु गरिएको बताउनुभयो् । ‘वडा आफैमा सरकार हो, त्यसलाई पुष्टि गर्न अधिकार प्रत्योजना सहित जनतालाई घरदैलोबाटै सेवा प्रवाह गर्न वडाबाटै सेवा प्रवाह सुरु गरेका छौ ।’ काबा प्रमुख गुरुङले कर तिर्न आउनेहरुलाई राम्रो ब्यवहार गर्नुपर्ने बताउदै नागरिकले कर छल्ने प्रबृत्तिको अन्त्य गदै कर तिरेर सभ्य नागरिकको परिचय दिनुपर्ने बताउनुभयो ।

उहाँले कर बृद्धि गरेको गुनासो गरिएको भएपनि महानगरमा कसैले उजुरी नदिएको बताउदै महानगरले नागरिकको गुनासो सम्वोधन गदै कर छुट १० प्रतिशत बृद्धि गरि २० प्रतिशत पुर्याएको बताउनुभयो । उहाँले महानगरले पुस मसान्त सम्म सम्पत्ति करमा २० प्रतिशत र असार सम्म १० प्रतिशत छुट दिने बताउनुभयो । महानगरले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएर ३३ वटै वडाबाट राजश्व र कर संकलनको लागि काम थालनी गरेको बताउनुभयो । प्रविधिको कारणले आफूसँग भएको सम्पत्ति कति छ ?जहाँबाट पनि हेरेर कर तिर्ने व्यवस्था महानगरले मिलाएको उहाँको भनाइ छ । महानगरले कर बढाएको नभइ मालपोत कार्यालयले सम्पत्तिको मूल्यांकन बढाएकाले विगत भन्दा केही बढी कर तिर्नुपरेको उहाँले स्पस्ट पार्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल नगरबासीलाई महानगर कार्यालय आउन नपरोस भनेर वडाबाटै कर संकलनको काम थालिएको बताउनुभयो । उहाँले महानगरलाई भिडभाड मुक्त बनाउदै नागरिकलाई सहज रुपमा सेवा प्रवाहको ब्यवस्था मिलाइएको बताउनुभयो । महानगरमा धेरै भिडभाड भयो,‘सानासाना काम महानगरले हेर्दा नीति निर्माण र योजना बनाउन सकिएन भनेर अधिकार वडामा प्रत्यायोजन गरिएको छ ।’ उहाँले भने अव कर संकलन, तिन तला सम्मको घरनक्सा पास, १५ लाख सम्मका योजनाको सम्झौता लगायतका काम वडाबाटै हुने ब्यवस्था गरिएको र यसले नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले महानगरका ३३ वटै वडाबाट कर संकलन गरिने बताउनुभयो । उहाँले महानगरका जुनसुकै वडाबाट पनि महानगरबासीले कर तिर्ने ब्यवस्था गरिएको समेत जानकारी दिनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएके कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, नेकपा वडा नम्वर ८ का संयोजक राजकुमार गिरी, काँग्रेसका वडा सभापति सुभाष सिग्देल, वडा नम्वर ८ का सदस्य कृष्णमान ठुसाजु लगायतले बोल्नु भएको थियो । वडाबाट एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयबाटै तिर्न सकिने छ । कुन वडामा कति राजश्व र कर संकलन भयो त्यो महानगरको राजश्व शाखामा हेर्न सकिने प्रविधि जडान गरिएको छ ।

Advertisment