पोखरामा “युके सुईटर” हेर्न पाइने

भुपाल गुरुङ,
पोखरा २ फागुन ।

कुनै समय आदिवासी जनजाति समुदायमा ब्रिट्रिस लाहुरेहरु विदामा घर आउँदा कोशेली स्वारुप महिलाहरुलाई सुइटर ल्याइदिने प्रचलन थियो । कोशेलीका रुपमा युकेबाट ल्याएका ति सुइटरहरु नेपालमा आएर युके सुइटर भनेर चिनिन्थ्यो । सुईटर आफन्त देखि प्रेमिका सम्मको लागि लाहुरेको कोशेली बन्थ्यो । सुईटर नै मायाको चिनोका रुपमा दिइने प्रचलन पहिले देखिकै हो । तर पछिल्लो समय युके सुइटर लगाउन ब्रिट्रिस लाहुरे नै हुनुपर्ने बाध्यता भने छैन । युके सुईटरको जुन बेला ठुलो महत्व थियो ठिक त्यहि बेलाको कथा समेटेर गुरुङ चलचित्र युके सईटर निर्माण भएको छ । चलचित्रलाई गुञ्ज बहादुर गुरुङले निर्देशन गरेका छन् ।

लेकाली फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रलाई फागुन ४ गते पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिरमा विशेष प्रदर्शन गर्न लागिएको छ । हङकङ्गमा प्रिमियर शो गरेर पोखरामा पहिलो पटक प्रर्दशन गर्न लागेको चलचित्रलाई पोखरेली दर्शकले भने फागुन ४ गते बिहान ९, मध्याह्न १२ र अपराह्न ३ बजे गरि तिन शो हेर्न पाउनेछन । कास्की र तनहुँको मनोरम दृश्यमा छायाँङकन भएको चलचित्रमा नेपाली र गुरुङ भाषाको प्रयोग गरिएको छ । करिव २० लाख निर्माण खर्च लागेको चलचित्रमा मेजर एलबी गुरुङ, गौबहादुर गुरुङ, धनमाया गुरुङ, भीमकला गुरुङ र रनमाया गुरुङले सयुक्त लगानी गरेका छन् ।

चलचित्रमा रोशन गुरुङ, रिया गुरुङ, विपिना गुरुङ, डीबी गुरुङ, चिजा गुरुङ, टिकाराम घले, सीता गुरुङ, कमलादेवी गुरुङ, मीन गुरुङ, विपुर गुरुङ, रमेश परियार, धनमाया गुरुङ, नन्द थापा र देव राना लगायतले अभिनय गरेका छन् ।

चलचित्रका गितमा राजकुमार बगरको शब्द, संगीत रहेको छ भने मौसम पुनले कोरियोग्राफी गरेका छन् । पुष्कर थापाको छायांकन, मनाङ गुरुङ र, छवि रानामगरको सम्पादन गरेको चलचित्रमा राजेश विष्टको ब्याकराउण्ड स्कोर रहेको छ । हङकङका दर्शकले चलचित्रलाई मन पराइदिएको भन्दै पोखराका दर्शकले पनि चलचित्र मन पर्नेमा निर्देशक गुरुङ विश्वस्त छन । चलचित्र युनिटले यस लगत्तै युकेमा पनि प्रर्दशन तयारी थालेको छ ।

Advertisment