सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।

सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताए ।

‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पुऱ्याएको योगदान स्मरण गरिरहेको छु,’ विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र स्वर्गीय अधिकारीको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौंमा निधन भएको थियो ।

Advertisment