नेपाली नयाँ वर्षमा पोखरामा फेवा महोत्सव हुने

 

पोखरा, १४ चैत ।

नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिंदै पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आयोजना गर्ने भएको छ ।
गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई केन्द्रमा राखी पोखराको कोमागाने पार्कमा यही चैत २९ देखि आगामी बैशाख १ गते सम्म तीन दिने महोत्सव आयोजना गर्न लागिएको महोत्सव संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित आयोजना हुन लागेको महोत्सवमा विशेष गरी देश विदेशमा प्रबद्र्धनका लागि छानिएका विभिन्न २५ खानाको प्रस्तुती र विक्रीवितरण हुने छ । यसबाहेक गण्डकी प्रदेशका विभिन्न चार वटा खानालाई पनि सँगै प्रस्तुत गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । सेफ एशोसिएशनसँग मिलेर खानाको पक्षलाई महोत्सवमा विशेष जोड दिन लागिएको महोत्सव संयोजक तुलाचनले जानकारी दिए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले अहिले पोखराका होटलको अकुपेन्सी उत्साहप्रद नभएको भन्दै महोत्सवले केही रुपमा भए पनि पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाली मौलिक संस्कृति र नेपाली खानालाई प्रबद्र्धन गर्दै महोत्सवलाई यसपटक नयाँ ढंगले संचालन गर्न लागिएको पराजुलीले सुनाए ।

महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र शान्त्वना स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रम रहेको छ । यसैगरी आमा समूह विचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ । नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ पाउने छन् । द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको संघका महासचिव एवं प्रचार प्रमुख गणेशराज पहारीले जानकारी दिए । डुंगा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

दिन–प्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । अहिले पोखराको होटलको अकुपेन्सीको ६० प्रतिशत नेपालीले धानेको र पोखरा क्षेत्रमा मात्र छ सय होटल संचालनमा रहेको अध्यक्ष तुलाचनले कार्यक्रममा जानकारी दिए । नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउने योजना संघको छ । पर्यटक दौड, डुंगा दौड, लोक दोहोरीका कार्यक्रम, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि महोत्सवले समेट्ने छ ।

महोत्सव सम्पनन गर्न ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । महोत्सव संचालन गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न २९ उपसमितिहरु गठन गरिएको छ । महोत्सवकै प्रचारका लागि संघले काठमाडौं, जनकपुर, चितवन, लुम्बिनी जस्ता शहरमा छिटै जाउँ है पोखरा अभियान संचालन गर्दै छ । होटल एशोसिएशन नेपाल र गण्डकी प्रदेश सरकारको सहयोग रहने महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गर्ने छ ।

Advertisment