सरस्वती टीका माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव

विद्यार्थी तथा शिक्षक सम्मान
पोखरा, १४ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी एवम् शिक्षकलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले गुणस्तरीय शिक्षा बर्तमानको आवश्यकता भएको बताउँदै शिक्षाको गुणस्तरीयता अभिबृद्धिका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आँफू यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका कारण विद्यालयका साथै यस क्षेत्रको समग्र विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
सो अवसरमा विद्यालयका १४ जना शिक्षक तथा कर्मचारीका साथै विद्यार्थीलाई सम्मान गरिएको थियो ।
पोखरा महानगरपालिका  वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले  शिक्षामा सबैको पहुँच स्थापित भैसकेको बर्तमान अवस्थामा राज्यको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्ने शिक्षाको विकल्प नभएको धारणा राखे ।
विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्लेले विद्यालयका गतिविधि र भावी योजना प्रस्तुत गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावक सबैको प्रयासमा विद्यालयलाई अघि बढाउन सकिने धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले शिक्षाको गुणस्तरीयता अभिबृद्धिका लागि नेपाली तथा अंग्रेजी दुबै माध्यमको पठनपाठनका साथै हाल एक हजार ११५ जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष गणेशप्रसाद ढकालले समयको माग एवम् अभिभावकको अपेक्षा अनुरुप विद्यालयमा प्राविधिक विषयको पठनपाठनमा जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार  केशरप्रसाद निर्दोषी, यज्ञप्रसाद अधिकारी, विदुरहरि आचार्य, सोमनाथ भण्डारी, अभिभावक नारायणप्रसाद  आचार्य  लगायतले समयको माग अनुरुप विद्यालयले दक्ष जनशक्ति तयार गर्ने किसिमको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखेका थिए ।
विद्यालयका शिक्षक श्रीधर आचार्य र महेश्वर अधिकारीद्वारा संयुक्त रुपमा सञ्चालित कार्यक्रममा विद्यालयका विद्यार्थीबाट नृत्य सहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

Advertisment