गोरखाको भूकम्प पुनर्निर्माणका बारेमा भारतीय राजदूत मन्जिभसिंह पुरीको चासो !

गोरखा– भूकम्पको केन्द्रबिन्दु गोरखाको पुनर्निर्माणका बारेमा भारतीय राजदूत मन्जिभसिंह पुरीले चासो देखाउँदै स्थलगत निरीक्षण गरेका छन्। शनिबार र आइतबार उनले गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत बनेको निजी आवास पुनर्निर्माणको अवलोकन गरेका हुन्।

गोरखाको पुनर्निर्माण ८५ प्रतिशत पुरा हुन सन्तोषजनक रहेको बताउँदै राजदूत पुरीले भने, ‘चार वर्षमा पुनर्निर्माण धेरै भएको रहेछ, धेरै खुसी छौँ।’ नेपाल र भारतबीचको मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल र नेपालीलाई सधैं खुसी देख्न चाहेको र नेपालको खुसीमा भारत सरकार पनि खुसी रहने बताए।

भारत सरकारको सहयोगमा गोरखामा भूकम्पपछि भएको पुनर्निर्माणको अवस्था, जनप्रतिनिधि र जनताको अपेक्षा, सन्तुष्टि लगायतका बारेमा बुझ्न राजदूत पुरी गोरखा आएका हुन्। सोही क्रममा उनले भारत सरकारको सहयोगमा निर्माण भएको गोरखा नगरपालिका ९ लक्ष्मीबजारको रेनुका खड्का कुँवरको घर निरीक्षण गरेका छन्। घर निरीक्षण पछि पुनर्निर्माणको गतिले खुसी तुल्याएको बताउँदै उनले नेपालसँगको सम्बन्ध अझै बलियो हुने विश्वास ब्यक्त गरे। जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तसँगको भेटमा उनले पुनर्निर्माणको अवस्थाबारे चासो राखेका थिए।

राजदूत पुरीले आइतवार निरीक्षण गरेको घर भदौ २४ गते नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच हुने प्रत्यक्ष भिडियो कुराकानीमा देखाइने छ। राजदूतका प्रेस संयोजक अभिषेक दुवेले सोही दिन मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको दुबै देशको प्रधानमन्त्रीले भिडियोबाटै संयुक्त उद्घाटन गर्ने बताए। सोही क्रममा भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा भइरहेको पुनर्निर्माण कामको पनि निरीक्षण हुने बताइएको छ। पुनर्निर्माण सम्बन्धी कामको केही झलक भिडियोमार्फत देखाइने छ। जसमा गोरखाको पुनर्निर्माणबारेको केही अवस्था झल्कने छ। उक्त कार्यक्रम भारतमा दुरदर्शन र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने तयारी रहेको राजदूतका प्रेस संयोजक दुवेले बताए।

भारत सरकारले गोरखा र नुवाकोटमा ५० हजार घरधुरी निर्माणका लागि ६ अर्ब ९५ करोड रुपैयाँ सहयोग गरेको छ। हालसम्म ४० हजार घर पुनर्निर्माण सकिएको दूतावासले जनाएको छ। यो मध्ये गोरखामा २६ हजार नौ सय १२ घरधुरीलाई पुनर्निर्माण सम्पन्न गर्न सहयोग गरिएको छ। तीमध्ये २३ हजार आठ सय घर बनिसकेको नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले बताए।

Advertisment