नेकपाको जिल्ला कमिटी शपथग्रहणमै झडप, साविकको एमाले र माओवादी कार्यकर्ताको बिच भिडन्त !

महोत्तरी  पार्टी एकतादेखि नै असन्तुष्ट रहंदै आएको पुर्ब एमाले र माओबादी बिचको झगडा तराइमा पुगेर छताछुल्ल भएको छ । विवादबीच दुई जिल्ला कमिटीका शपथग्रहण खोज्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा झडप भएको छ।

मंगलबार महोत्तरीको बर्दिबासस्थित बर्दिवास सेवा सदनको भवनमा सप्तरी र सिराहा जिल्ला कमिटीको शपथग्रहण गराउने क्रममा झडप भएको हो।

केन्द्रीय सर्कुलर अनुसार नगरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले शपथग्रहण स्थगित गर्न अवरुद्ध पारेको थिए। असन्तुष्ट पक्षले प्रदेश कमिटीमा अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात समेत गरेको एक प्रत्यक्षदर्शीले बताए। त्यसपछि प्रहरीले कार्यकर्तामाथि लाठी प्रहार गरेको थियो।

झडपका क्रममा सिराहाका प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउको टुफेको छ। उनको टाउकोमा आठ वटा टाँका लगाइएको छ। सप्तरीमा पूर्व एमाले र माओवादीतर्फ र सिराहामा पूर्व माओवादीको कार्यकर्तामा असन्तुष्टि रहेको छ। असन्तुष्टिका बीच मंगलबार बिहान सिराहा र सप्तरी जिल्ला कमिटीका शपथग्रहण कार्याक्रम बर्दिवासमा राखिएको थियो।

‘अरु जिल्लामा बढी विवाद भएको कारण कम विवाद रहेको सप्तरी र सिराहाको शपथग्रहण गर्ने खोजिएको थियो। तर सबैतर्फबाट असन्तुष्टहरु भेला भए र कार्यक्रममा अवरोध गरे’, नेकपा महोत्तरीका सहइन्चार्ज प्रकाश पोखरेलले नेपालखबरसँग कुरा गर्दै भने, ‘प्रदेश कमिटीका अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुेरलमाथि हातपातको कोसिस भयो । त्यसैक्रम प्रहरीसँग धक्कामुक्की हुँदा एक जना साथीको टाउको चोट लागेको छ।’

उनले शपथग्रहण कार्यक्रममा नै प्रशिक्षण चलाउन योजना बनाएको र केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महसचिव विष्णु पौडेल आउने भनिएको भए पनि विवाद समधान नभएपछि नआएको बताए।

आठ जिल्ला रहेको प्रदेश नम्बर २ का पूर्व एमालतर्फ सिराहा, सर्लाही र बारा बाहेक अन्य स्थानमा जिल्ला कमिटीका चयनमा असन्तुष्टि रहेको छ। त्यसैगरी माओवादीतर्फ सबै जिल्लामा असन्तुष्टि रहेको एक केन्द्रीय सदस्यले बताए। यसअघि पनि पटक पटक विवाद समाधान गर्नका लागि बैठकहरु भएपनि प्रदेश नम्बर २ मा कमिटी गठनमा सहमति बन्न सकेको छैन। जिल्ला, प्रदेश हुँदै केन्द्रमा समेत प्रदेश नम्बर २ को विवादको बारेमा सहमति खोज्ने प्रयास भएपनि सहमति जुट्न सकेको छैन ।

जिल्ला कमिटीको चयनमा मनपरी भएको भन्दै विवाद चुलिएको छ । पटक–पटक जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम तय हुँदै रोकिँदै आएको छ ।

महोत्तरीको बर्दिबासमा पूर्वनिधारित शपथ ग्रहणको कार्यक्रम तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्ला कमिटी एकीकरण प्रक्रियासँगै गठित जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । मंगलबार बर्दिवासमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट गरी ६ जिल्ला कमिटीको शपथ गराउने तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको प्रदेश कमिटीले जनाएको छ ।

‘जिल्ला कमिटी गठन गर्दा धनुषामा साविकको एमाले र माओवादीबाट ७५/७५ जना गरी १५० सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । धनुषामा साविकमा नेकपा माओवादीको ७५ सदस्यीय जिल्ला कमिटी र साविक नेकपा एमालेका ७५ जनाको जिल्ला कमिटी थियो । तर, नेकपाको जिल्ला कमिटी बनाउँदा साविकको माओवादी संगठनका सबै सदस्य राखिए पनि एमालेबाट ७५ जनामध्ये २२ जनालाई हटाएर नयाँ अनुहार राखेपछि धनुषा जिल्ला कमिटी विवादित भएको हो ।

Advertisment