संविधान दिवसमा राष्ट्रपति–उपराष्ट्रपति,सभामुख ,राष्ट्रियसभाका अध्यक्षसहितको शुभकामना

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छन् ।
संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।
संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् ।
संविधान दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै उनले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धी संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई ज्ञापन गरेका छन् ।
यसैगरी सभामुख कृष्णबहादुर महराले ‘संविधान दिवस, २०७६’ को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
संविधान दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै उनले चार वर्ष अघि असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको उल्लेख गर्दै नेपालको इतिहासमा ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई संविधानमार्फत संस्थागत गरिएको यस दिनको अवसरमा संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका सङ्घर्षमा शहादत प्राप्त गर्ने सहिदप्रति हार्दिक श्रद्धाञ्जलि तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान अर्पण गर्ने उल्लेख गरेका छन् ।
यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकलाई एकताबद्ध गर्ने र राष्ट्रिय एकतालाई मजबुत पार्न सबै नेपालीलाई आह्वान गरेका छन् ।

Advertisment