तरुण दललाई निर्वाचनमा लाग्न सभापति देउवाकाे निर्देशन,तरुण दल छिटाे पुनर्गठन गर्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा तरुणहरूलाई उपनिर्वाचनमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । नेपाल तरुण दलको ६६औँ स्थापना दिवसका अवसरमा ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली कांग्रेसको शक्ति भनेको नेपाल तरुण र नेपाल विद्यार्थी संघ भएको बताए ।

‘उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनुपर्छ । सबै युवा तरुण र विद्यार्थी नेता तथा कार्यकर्ताहरू उपनिर्वाचनमा केन्द्रित भएर गतिविधि गर्नुपर्छ’, उनले भने, ‘तपाईहरू नेपाली कांग्रेसको मेरुदण्ड हाे ।

वर्तमान सरकार लोकतन्त्रप्रति कठोर बन्दै गएको सभापति देउवाले बताए । ‘यो सरकारले जनताका हकअधिकार खोस्ने काम गरेको छ । निरंकुश बन्दै गएको छ’, सभापति देउवाले भने, ‘कम्युनिस्टहरूको अधिनायकवाद रोक्ने जिम्मेवारी पनि युवा तरुणको काँधमा छ ।’

नेपाल तरुणको जन्म कठिन अवस्थामा भएको स्मरण गरेका नेपाली कांग्रेसका सभापति देउवाले तरुण दलले नै राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्न सक्ने बताए ।

सभापति देउवाले नेपाल तरुण दललाई छिटै पूर्णता दिई महाअधिवेशन गर्नुपर्ने उल्लेख गरेका थिए ।

Advertisment