कांग्रेसमा भातृसंस्था/ बिभाग गठनमा सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीकाे बिभाग गठन, रिक्त रहेकाे भातृसंस्थाकाे पदपुर्ति लगायतकाे प्रस्ताव अघि सारेका छन । पार्टीलाई उपनिर्वाचन अघि नै मजबुत बनाउने तयारी साथ अघि बढेका देउवालाई भने संस्थापन ईतर समुहकाे असहयोग का कारण अलमलिनु परेकाे बताईन्छ ।
संस्थापन पक्षबाट तिहार अघि नै विभाग गठन र भातृसंस्था पदपुर्तिकाे तयारी भएको भएतापनि विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा प्रस्ताव भएपछि सकस देखिएको हो ।

गत ७ कात्तिकमा सभापति शेरबहादुर देउवाले विभाग गठन, भातृसंस्था सहित उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रीय समिति बैठक बोलाएका थिए ।

सोअघि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ४२ विभागको प्रस्ताव गरेका थिए । देउवा र पाैडेल बिच लामाे संम्बाद भई करिब सहमति भई ४० प्रतिशत पाैडेल पक्षकाे भागकाे नाम दिने र साेहि अनुसार केन्द्रिय समिति प्रस्ताब गरि टुङ्ग्याउने सहमति भएकाे बताईन्छ ।

तर, बरिष्ठ नेता पौडेलले देउवासंगकाे सहमति पछि अाफ्नाे पक्षका नेताहरु संग बैठक राखेकाे र त्यहां अधिकांश नेताले पार्टिकाे महाधिवेशनकाे मुखमा बिभाग गठन गर्न नहुने,भातृ संस्था पदपुर्ति भन्दापनि अधिबेशन गरिनुपर्ने जस्ता बिपरित कुरा राखेपछि पाैडेल अप्ठयाराेमा परेकाे बताईन्छ ।  अाफ्नाे समुहकाे बैठक पछि पाैडेलले बाेली फेर्दै महासमितिबाट पारित विधानमा २८ विभागको मात्रै व्यवस्था भएकाले सोहीअनुसार नै गठन गरिनुपर्ने, नभए बैठकमा नै सहभागी नहुने भनेपछि बैठक स्थगित गरिएको थियो ।

सो विषयमा सहमति जुटाउन भन्दै सभापति देउवाले बिहीबार बिहान फेरि आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीसहित शीर्ष नेताको बैठक बोलाएका छन् ।

वरिष्ठ नेता पौडेलले उपनिर्वाचनसहित अन्य आवश्यक विषयमा छलफलका लागि बोलाइएको बताए । पौडेलले बैठकमा विभाग गठनसहितका विषय उठाइने बताएका छन् ।

‘उपनिर्वाचनसहितका विषयमा छलफल गर्ने भन्ने छ, विभाग गठनका विषयमा पनि कुरा उठ्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले शुक्रबार भने केन्द्रीय समिति बैठक बोलाएको र सो बैठकमा उपनिर्वाचनका विषयमा उम्मेदवारबारे छलफल गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सो बैठकमा समेत विभाग गठनसहितका विषयमा छलफल हुने बताइएको छ । इतर पक्षले भने अब बस्ने बैठकमार्फत पार्टीका सबै रिक्त विभाग, नेविसंघ, तरुण दलसहितका सबै भ्रातृसंगठनका विषयलाई समग्रतामा प्याकेजमा नै टुंग्याउनुपर्ने बताएको छ ।

Advertisment