उपनिर्वाचनका लागि उम्मेदवार राेज्दै कांग्रेस

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आज बिहान पदाधिकारी बैठक बोलाएको छ। जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको हाे।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ। पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले यही कात्तिक १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए।

यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै यी कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो।

सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

कास्कीकाे निर्णय बाट असन्तुष्ट

अागामी मंसिर १४ गते हुने क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा निर्बाचनका लागि एक महिला सहित ३ जनाकाे मात्र नाम सिफारिस गर्न केन्द्रले पटक पटक अाग्रह गरेकाे भएतापनि कुनै किसिमकाे सहमतिका लागि छलफल नचलाई १६-१६ जनाकाे नामावली पठाएकाेमा अधिकांश नेताहरु असन्तुष्ट रहेकाे बताईन्छ । वडा तहमा प्रतिनिधित्व समेत नगरेकाहरु समेत एकाएक संघिय संसद ताक्दै नाम टिपाएकै भरमा सिफारिस गरिनु दुर्भाग्य हाे एक नेताले भने । यता कास्कीका संस्थापन ईतर नेताहरु भने १६ जनाकाे नाम पठाउंदा केन्द्रिय नेताले खेल्ने ठाउं पाएकाे र १६ बाहेकले टिकट ल्याएमा अाश्चार्य मान्नुपर्ने अवस्था नरहेकाे बिश्लेषण गरिरहेका छन ।

Advertisment