काठमाडौं । काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् ।
नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारको सिफासिरमा नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको हो ।२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रमुख सिफारिस गरेको थियो ।
निर्वाचन पछि २०७४ फागुनमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि नै देउवा नेतृत्वको सरकारले गरेका निर्णय उल्ट्याएको थियो ।
देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेको निर्णय ओली सरकारले फिर्ता लिए पनि प्रदेश प्रमुखको नियुक्ति फिर्ता लिने विषयमा विवाद सिर्जना भएपछि तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको थियो ।
देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको सिफारिसका आधारमा प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वर लाल (कायस्थ), प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, गण्डकी (४ नम्बर) प्रदेशको प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, कर्णाली (६ नम्बर) प्रदेशको प्रमुखमा दूर्गा केशर खनाल र सुदूरपश्चिम (७ नम्बर) प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरिएको थियो