देबघाट जानुपर्ने खेमराजलाई कांग्रेसले उम्मेदवार बनाएकाे प्रचण्डकाे अभिब्यक्ति प्रति कांग्रेसकाे कडा टिप्पणी !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् ।  प्रचण्डले बुधबार कास्की-२ का कांग्रेस उमेदवार खेमराज पौडेलविरुद्ध कटु टिप्पणी गरेपछि प्रवक्ता शर्माले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत जवाफ फर्काएका हुन् ।  उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको उचाई र उमेरले चुनावी सभामा उमेदवार पौडेलमाथि गरेको टिप्पणी अभिव्यक्ति शोभनीय नभएको पनि बताएका छन् ।  “कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ?,” प्रवक्ता शर्माले प्रश्‍न गरेका छन् ।

उनले अमेरिकामा ७० नाघेका डोनाल्ड ट्रम्प राष्ट्रपति र ७० कै हाराहारीका केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बन्दा सोही उमेरका पौडेल सांसद बन्न किन नमिल्ने भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, “७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?”

यसअघि बुधबार दिउँसो नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस उमेदवार पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर कटु टिप्पणी गरेका थिए । “हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बुढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ?,” उनले भनेका थिए ।

Advertisment