राम गुरुङकाे देश प्रेम’ आफ्नै गाउँ फर्की आएँ

पाेखरा । ‘आफ्नै गाउँ फर्की आएँ’ सत्रको प्यानलमा युवा उद्यमी राम गुरुङ थिए।

लेखक सरस्वती प्रतीक्षाले सुरूमै भनिन्, ‘धेरै देशले वस्तु उत्पादन गर्छ र विदेश निर्यात गर्छ। हामी यस्तो देशमा छौं, जहाँ युवा उत्पादन गरेर विदेश निर्यात गर्छौं।’

यसरी नै विदेश निर्यात हुन चाहेका थिए, कास्की घलेलका राम गुरुङ। २०५८ सालमा उनी बेलायत जान भनेर लाग्दा दलालको फन्दामा परे।

उनका अनुसार भारतको बाटो हुँदै बेलायत जान खोज्दा भिसा नक्कली पर्‍यो। मुम्बई एयरपोर्टबाट बेलायतका लागि जहाज चढे, जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा थप यात्रु राख्न ओर्लियो। जहाजभित्रै बसिरहेका गुरुङलाई अचानक दिल्लीस्थित अध्यागमनका सुरक्षाकर्मीले पक्राउ गरे। गुरुङ दक्षिण एसियाकै ठूलो तिहाड जेल पुगे। भारतका विद्यार्थी नेता कन्हैया कुमार जेल बसेपछि तिहाड जेल अझ चर्चित भएको छ।

दसैं-तिहार बेला थियो। तिहाड जेलबाहिर पनि दसैं उत्सव चलिरहेको थियो। बाहिर पटका पड्काएर मनोरञ्जन लिइरहेका थिए। गुरुङ भने यो अन्कन्टार जेलमा आँशु चुहाइरहेका थिए।

साढे दुई महिना तिहाड जेल बसेपछि उनी डेढ लाख धरौटीमा रिहा भए। उनलाई रिहा गर्न पारिवारिकस्तरमा सम्बन्ध रहेका पोखराका किरणलाल श्रेष्ठ गएका थिए।

जेलबाट धरौटीमा छुटेपछि उनलाई घर फर्कन मन लागेन। बेलायत जाने भनेर गुरुङले १२ लाख सकिसकेका थिए। गुरुङलाई छुटाउन गएका श्रेष्ठले गाउँ फर्कन ‘कन्भिन्स’ गरे। गुरुङ माने र फर्किए।

घलेलको बौद्ध सिर्जना युवा क्लबका अध्यक्ष रहेका गुरुङ सामाजिक सेवामा उत्तिकै दत्तचित्त थिए। उनकै अगुवाईमा घलेलमा लघु जलविद्युत आयोजना बनाएर गाउँ झिलिमिली पारिसकेका थिए। १९ वर्षकै उमेरमा आफूले यो काम गरेको बताउँदै गुरुङले त्यसको कथा सुनाए।

पोखरामा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको प्रदर्शनी हेरेपछि थोरै पानीले पनि बिजुली निकाल्न सकिन्छ भन्ने देखेर उनले आफ्नो  घरमा बिजुली बाल्ने सपना देखेछन्। जब गाउँ गएर यो कुरा गरे, गाउँलेले सबै घरमा बिजुली बाल्न पाउनुपर्ने कुरा गरे। त्यसपछि नै गाउँ नजिकैको घट्टेखोलाबाट बिजुली निकालियो, गाउँ झिलिमिली भयो।

नेपालमा माओवादी द्वन्द्व तीव्र थियो। गुरुङका छोरा लाहुरे हुने वा विदेश जाने चलन झनै बढेको थियो। उनी भने बेलायत जान हिँडेका थिए।तिहाडबाट फर्किएपछि गाउँमै सामाजिक सेवामा लागिरहे।

यत्तिकैमा सन् २००९ मा बेलायती नागरिक रिचल रसेल घलेलकै ‘बमबहादुर घलेल आधारभूत विद्यालय’मा स्वयंसेवी बनेर आइन्। तीन महिनाका लागि आएकी रसेलको घलेलकै बुद्धिबहादुर गुरुङसँग प्रेम बस्यो। रसेल बेलायत फर्किएर आफ्ना प्रियतमलाई बोलाइन्।

उनीहरू बेलायत गएको तीन वर्षपछि विवाह उत्सव मनाउने निर्णयमा पुगे। उनीहरूको संस्कार अनुसार मिल्ने साथीका रुपमा रसेलले राम गुरुङलाई विवाह उत्सवमा सहभागी हुन निमन्त्रणा गरिन्।

गुरुङ बेलायत गए। रसेल दम्पत्ति नियमित काममा जानुपर्ने भएकाले गुरुङलाई लण्डनस्थित वाटरपार्क घुम्न लगाए। पार्कमा ‘केबल स्की’ लगायत खेल र मनोरञ्जनका व्यवस्था थिए। जब गुरुङ वाटरपार्क घुम्न थाले, तालैतालको सहर पोखरामा पनि यो काम गर्न सकिने उनलाई लाग्यो।

उनले त्यहाँका अधिकारीहरूसँग कुरा गरे। पोखराको दिपाङ तालको फोटो गुगल म्यापबाट दिए। ती बेलायती अधिकारीले दिपाङ तालमाथि केबल स्कीको थ्रिडि भिडियो बनाएर दिए। अनि उनलाई तुरुन्त पोखरा फर्किन मन लाग्यो।

चार महिना बेलायतमा बिताएर काठमाडौं उत्रिएलगत्तै गुरुङ नेपाल पर्यटन बोर्डमातहत पर्यटन उद्योग महाशाखा पुगे। पोखराको दिपाङ तालमा यो खेल खेलाउन सकिने बताए।

पोखराको तत्कालीन लेखनाथ नगरपालिकामा निवेदन दिए। सर्वदलीय बैठकमा योजना पेश गरे। भिडियो देखाए। सबैले राम्रो भने। तर जब ताल भाडामा दिने कुरा आयो, त्यसपछि यसो गर्न नसकिने उनीहरूले सुनाए।

यत्तिकैमा गुरुङको भेट नेपालका प्रथम क्यानोनिङ गाइड राजेश लामासँग भयो। लामाले मर्दी हिमाल पदयात्राबाट फर्किँदा घलेलमा राम्रो झरना देखेको कुरा गरे। यो झरनामा क्यानोनिङ गर्न सकिने बारे कुरा भएपछि गुरुङले उनलाई बोलाए। लामाले क्यानोनिङको सम्भावनासँगै नेपालका धेरै ठाउँमा काम गर्दा पनि सञ्चालन हुन नसकेको तितो अनुभव पनि सुनाए।

घलेलको कुदी झरनामा क्यानोनिङ परीक्षण भयो। सफल भयो। तर यसलाई निरन्तरता दिन चलाउने मान्छे भेटिएनन्। त्यसपछि गुरुङ आफैंले यो सञ्चालनमा ल्याए।

अमेरिकन क्यानोनिङ एकेडेमीका संस्थापक रिच काल्सनले यो झरनामा क्यानोनिङ गर्न स्थानीय र १६ जिल्लाका युवालाई क्यानोनिङ गाइडको तालिम दिए। अहिले पोखरा क्यानोनिङ घलेललाई चिनाउने एउटा ब्राण्ड बनेको छ।

बेलायत जाने सपनाले तिहाड जेल पुगेका गुरुङ बेलायत त पुगेकै थिए। तर उनी त्यहाँ रहिराहन सकेनन्, चाहेनन्। आफ्नै गाउँ फर्केर सामाजिक उद्यमशीलतामा लीन भए।

समाजसेवा र उद्यमशीलतामा उत्तिकै समय दिइरहेका गुरुङले पोखराबाहेक अन्यत्र पनि क्यानोनिङ फैलाइरहेका छन्। उनकै अगुवाईमा घान्द्रुक, स्याङ्जा, पर्वत लगायत ठाउँमा पनि स्थानीय युवालाई तालिम दिएर उद्यमी बन्न सघाइरहेका छन् ।

(साभार – युवराज श्रेष्ठ सेताेपाटीबाट)

Advertisment