कांग्रेस कलहको भित्री कथा: के हो नेताहरुको ‘बटमलाइन’

काठमाडौं । १४ औं महाधिवेशनको कार्यतालिाकामा कुरा नमिल्दा प्रमुख प्रतिपक्षी दल नेपाली का्रग्रेस भित्रको विवाद फेरि एकपटक सतहमा आएको छ ।

केन्द्रीय समिति बैठक नै बहिस्कार गर्नुपर्ने तहसम्म विवाद चुलिँदा पनि नेताहरु भने गम्भीर बन्न सकेका छैनन् ।

आवरणमा १४ औं महाधिवेशनको कार्यतालिकामा विवाद भनिए पनि कांग्रेस भित्रको खास विवाद आगमी महाधिवेशनका लागि नेतृत्वको लडाइँ हो ।

विधान अनुसार काम भएको भए कांग्रेसको महाधिवेशन अहिले भइरहेको हुने थियो । सभापति शेरबहादुर देउवा नेतृत्वको स्वभाविक कार्यकाल यही फागुनमा सकिंदैछ ।

तर संविधानको संरचना अनुसार हुनुपर्ने तल्ला तहका समायोजनसमेत हुन नसकेको अवस्थामा अधिवेशनको त कुरै छाडौं । नेतृत्वकोबीच कुरा मिलिहाले पनि भटाभट प्रक्रिया अघि बढाउँदासमेत कांग्रेस महाधिवेशन एक वर्ष अघि सम्भव नै छैन ।

स्वयम् नेताहरु समेत यो विषयमा जानकार छन्, तर पनि यही विषयमा केन्द्रीत भए जस्तै गरी विवाद गरीरहेका छन् ।

विवादको चुरो भनेको पार्टी महाधिवेशन अगाडी नेपाल विद्यार्थी संघ, तरुण दललगायतका भातृ संस्थाहरु कसको पक्षमा हुने भन्ने हो ।

संस्थापन पक्ष महाधिवेशनको मुखमा आएर सबै भातृ तथा शुभेच्छुक संस्थाहरु आफ्नो पकटबाट गुमाउन चाहँदैन ।

असन्तुष्ट पक्ष पनि देउवा समूह कमजोर भएको मौका छोपी अहिले नै अधिवेशन गराएर ती संस्थाहरुमा आफ्नो पकट सुरक्षित गर्न चाहन्छ ।

जसले १४ महाधिवेशनमा पार्टी नेतृत्वमाम स्थापित गराउन सहयोग पुग्छ भन्ने बुझाइमा छ ।

संस्थापन पक्ष महाधिवेशन सकिएको दुई महिनाभित्र सकिसक्नुपर्ने  विभाग गठन अर्को महाधिवेशन आउन दुई महिना बाँकी हुँदा मात्र गर्न खोज्दैछ ।

तर असन्तुष्ट पक्ष भने त्यसलाई रोक्न खोजिरहेको छ । यी सबै कुरोको चुरो भनेको १४ महाधिवेशनमा हुने नेतृत्व लडाइको रिर्हसल हो ।

पछिल्लो निर्वाचनहरुमा नराम्ररी खुम्चिएको कांग्रेसले उप निर्वाचनको परीणाममा पनि खासै सुधार गर्न सकेन ।

त्यसबाट पाठ सिक्दै जनतामैत्री हुनुपर्ने कांग्रेस आफैं भित्रको लडाइमा यत्ति बिघ्न रमाइरहेको छ, जो लड्नेलाई भन्दा पनि हेर्नेलाई लज्जित बनाउने खालको छ ।

एउटै पार्टी भित्र बैठक बहिस्कार हुने अवस्था सृजना हुनु र त्यो दोहोरीरहनु पार्टीका लागि कत्ति हितकर होला ? त्यो त कांग्रेस बुझेका र नेता हुँ भन्नेहरुसँग पनि जवाफ छैन । बाँकी हेर्नेका लागि समेत राम्रो देखिएको छैन ।

अझ एउटै पार्टी भित्र विवाद समाधानका नाममा अलग अलग वार्ता टोली गठन हुने विषय त झन् अरुलाई लोकतन्त्र सिकाउँछु भन्नेहरुका लागि कत्तिको प्रिय बनेको होला । सायद, प्रिय लागेर नै यस्तै गरीरहेका होलान् । अन्तर गुट वार्ता टोली अहिले सहमति जुटाउन लागिपरेको चर्चा छ ।

संस्थापन पक्ष केन्द्रीय समितिको म्याद नथपी महाधिवेशन कार्यतालिका ल्याउन अझै सहमत बनेको छैन भने इतर पक्ष नेविसंघ, तरुण दल गठनदेखि महाधिवेशन कार्यतालिका, विभाग गठन र कार्यकाल थप सम्मको  निर्णय एउटै प्याकेजमा गरौं भनिरहेको छ ।

अन्तर पार्टी भित्र गुट बलियो बनाउने नाममा कांग्रेस कत्तिको बलियो बन्ला ? त्यो त बनाउन लाग्नेहरुले नै जानुनन् ।

तर कांग्रेस नरहे पनि मेरो गुट अमर रहोस् भन्ने मान्यतामा नेताहरु रहँदासम्म जनतामा अपेक्षित कांग्रेस तत्काल संभव छैन ।

(साभार-सरोज अधिकारी/ईमेजका लागि)

Advertisment