जनजाति पत्रकार भिरचोकमा, आकर्षक गन्तव्य जरुरीः मन्त्री चुमान दुई वर्षमा शत प्रतिशत प्रतिवद्धता पुराःअध्यक्ष ओझा

हुम तमु
पोखरा, ४ पुस

कास्की जिल्ला, रुपा गाँउपालिका वडा नं.६ भिरचोकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गण्डकी प्रदेश समितिले आफ्नो दोश्रो पुर्ण बैठक सम्पन्न गरेको छ । विभिन्न निर्णयहरुसहित रुपा गाँउपालिकाको पर्यटन प्रवद्र्धनका साथै विकासमा सञ्चार क्षेत्रबाट सघाउने संकल्प गरेको फोनिजले रुपा गाँउ पालिकाको सहयोगमा दुइवटा कार्यक्रम अन्तरक्रिया र सार्वजनिक सुनुवाई समेत सम्पन्न गरेको छ।
भिरचोकस्थित ध्रुवतारा युवा क्लवको सभाहलमा विहिवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा रुपा गाँउपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री चुमानले पर्यटनको गन्तव्यहरु भएको रुपा गाँउपालिकाको पर्यटन प्रवद्र्धनमा गाँउपालिका जुटिरहदा प्रदेश सरकारको साथ रहेको बताउनुहुदै पर्यटन विकासका लागि सञ्चार क्षेत्रका सहयोग आवाश्यकतामा जोड दिनुभयो। देश,प्रदेश र गाँउ गाँउको विकासका लागि पर्यटन क्षेत्र अत्यन्तै महत्वपुर्ण भएकाले पर्यटक कसरी आकर्षित र दिगो विकास गर्ने भन्ने बारेमा सोच्नुपर्ने उहाँले बताउनुभयो।
गाउपालिका अध्यक्ष नवराज ओझाले रुपा गाँउपालिका संभावना नै संभावना भएको प्राकृतिक र सँस्कृतिले सुन्दरता भरिपुर्ण भएकाले पर्यटन विकासका लागि पहल भईरहेको बताउनुभयो। पर्यटन गन्तव्यहरु र पर्यटक आकर्षणका क्षेत्रहरु रुपामा धेरै छ, त्यसलाई व्यवस्थित गरी व्यवसायिकतामा रुपान्तरण गर्न मिडिया लगायत सबैको साथको अपेक्षा गर्नुभयो।
पर्यटन वर्ष संयोजक जुद्धबहादुर गुरुङले मुलुकको विकासको संभावना पर्यटन प्रवद्र्धनबाटै भएकाले नेपालको सवै तहको सरकारले पर्यटन वर्ष समेत घोषणा गरी प्रचार प्रसार र कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, रुपा गाँउपालिकाले बंगलादेशको राष्ट्रपति समेतलाई स्वागत गर्ने अवसरमा मिलेको खुशी व्यक्त गर्नुहुदै हरेक महिना फरक फरक कार्यक्रमहरु गरी पर्यटक आकर्षणले लामो बसाईका लागि पहल गर्नुपर्ने बताउनुभयो।
तनहु देवघाट गाँउपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले अत्यन्तै संभावना भएको, श्रोत र साधन समेतको प्रवन्ध गर्न सक्ने रुपा गाँउपालिकाको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको साथ प्राप्त भईरहेको र आगामी दिनमा समेत थप प्रचार गर्न आग्रह समेत गर्नुभयो।
जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले पर्यटन प्रवद्र्धनका लागि दिगो विकास, पर्यावरणीय सन्तुलन, प्रकृतिको सुन्दरता, सँस्कृतिको संरक्षण र सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताउनुभयो। पर्यटकलाई नयाँ स्वाद, गन्तव्य जरुरी रहेको भन्नुहुदै मौलिक पहिचानलाई प्रचार प्रसार गर्न सञ्चारले सघाउनुपर्ने बताउनुभयो।
फोनिज गण्डकीका अध्यक्ष एम बी आस्थाको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाँउपालिका वडा नं.६ का वडा अध्यक्ष नारायण गुरुङले स्वागत, फोनिज गण्डकी इञ्चार्ज हुमबहादुर गुरुङले कार्यक्रमको औचित्यबारे बोल्नुभएको थियो भने महासचिव रुद्रबहादुर श्रीसले कार्यक्रम संचालन गर्नुभएको थियो।
यसरी नै शुक्रवार बिहान आयोजित रुपा गाउपालिकाको दिगो विकास, पर्यटन पवद्र्धनका लागि अन्तरक्रिया तथा सार्वजनिक कार्यक्रम फोनिजले सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि गाँउपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेलामा २ वर्षमा गर्छु भन्ने प्रतिवद्धता शत प्रतिशत कार्य सम्पन्न गरेको र थप अन्य काम समेत गरेको बताउनुभयो। दुईवर्षे प्रतिवद्धता पुरा मात्रै नभएर उहाँले आफ्नो कार्यकालमा कृषि उत्पादनमा बृद्धि, युवा स्वरोजगार, व्यवसायीकरण, पुर्वाधार विकास, पर्यटन, कृषि, उद्यमशीलता, बाटोको स्तरोन्नति, सँस्कृति संरक्षणमा दिगो विकासमा आधारित भए कार्य गर्ने बताउनुभयो। सार्वजनिक सुनुवाईमा स्थानिय र पत्रकारहरुको प्रश्नमा इमान्दारी पुर्वक, सबै दल एक भएर विकासमा जुटिरहेको र आगामीदिनमा पनि राजनीतिक पार्टी होइन विकासमा सबै जनता समेत एक भएर अघि बढ्ने बताउनुभयो।
कार्यक्रममा गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद पोखरेलले रुपा गाउपालिकाले हालसम्म गरेका मुख्य योजना तथा कार्यक्रमहरुको बस्तुगत विवरण प्रस्तुत गर्नुभएको थियो।गाँउपालिकाको रणनीतिक महत्वका मुख्य सडकहरु पिच भईरहेको, रुपा रिंगरोडको पित तथा स्तरोन्नति, स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन, विधुतीकरण, खानेपानी, कृषि, शिक्षा, सचेतना कार्यक्रम लगायत विविध विषयगत जानकारी गराउनुभएको थियो।
फोनिज गण्डकीका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल काँग्रेस गाँउपालिका इकाई सभापति सुवेदार तुलबहादुर गुरुङ, नेकपाका अध्यक्ष हर्कबहादुर खत्री लगायत स्थानीयवासी र पत्रकारहरुले सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा राखेका थिए भने फोनिज महासचि रुद्रबहादुर श्रीसले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
फोनिज गण्डकीको बैठकका साथै गाँउपालिकाको सहयोगमा अन्तरक्रिया र सार्वजनिक सुनुवाई कार्यक्रमका लागि भिरचोक पुगेका पत्रकारहरुलाई आमा समुहले भव्य स्वागत र विदाई गरेको थियो भने साँस्कृतिक समुहले मौलिक सँस्कृतिहरु छ्याडु, सोरठी, कौरा, चुड्का लगायत विभिन्न साँस्कृतिक प्रस्तुती मार्फत मनोरञ्जन दिलाएका थिए। पर्यटन विकासका साथै होमस्टे सञ्चालनमा जुटेको भिरचोक पाहुनाको पर्खाइमा रहेको वडाध्यक्ष नारायण गुरुङले बताउनुभयो।

Advertisment