पाेखरामा येशू ख्रीष्टको जन्मदिन भब्यरुपमा मनाईयाे, सबै धर्मलाई स्वतन्त्र रहेकाे सांसद राजिब पहारीकाे भनाइ

पोखरा ५ पौष । इसाई धर्मका संस्थापक येशू ख्रीष्टको जन्मदिनको अवसरमा पोखरामा शनिबार शान्ति र्याली सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरेली ख्रिष्टिय समुदायको संयोजन तथा मूल आयोजक समितिको आयोजनामा भएको उक्त र्याली चिप्लेढुङ्गा स्थित मानव अधिकार चोकबाट सुरु भइ न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै नयाँबजारको प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा पोखरामा रहेका करिव ८० वटा भन्दा बढी चर्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै गन्डकी प्रदेशका सांसद राजीव पहारीले मुलुकको संविधानमै धर्म निरपेक्षता आइसकेकाले सबै धर्मका अनुयायीले समान अधिकार प्राप्त गरिसकेको बताए ।

सरकारल‌े अवलम्बन गरेको बाटो पुरानो संरचनाभन्दा बिल्कुल फरक रहेको भन्दै फरक बाटोमा हिँड्न केहि अप्ठ्यारो हुने बताए । उनले सबै धर्मका अनुयायीहरुलाइ राज्यले हेर्ने दृष्टिकोण फरक नरहेको भन्दै सुखी नेपाली समृद्ध नेपालको अभियान सार्थक पार्न सबै एकजुट हुनुपर्ने बताए ।
सभालाई सम्वोधन गर्दै रेभ डा.सामुयल संग्राम राइले येशुको जन्म सारा मानिसको मुक्तिका लागि भएको बताउँदै सत्यको मार्गमा लाग्न उहाँको जीवनले धेरै प्रेरणा जगाउने बताए । डा। राइले आँफुहरु धर्मको प्रचारक नभएको बताउँदै प्रेमको प्रचारक भने अवस्य रहेको बताए । ख्रिष्टमसको अवसरमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले इसाइहरुको भावनामा ठेस पुर्याउने काम गरेको उहाँको भनाई थियो ।
सो अवसरमा यहि पौष ९ गते परेको ख्रिष्टमसको शुभकामना आदानप्रदान समेत गरिएको थियो । त्यस्तै गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पठाउनुभएको शुभकामना सन्देश समेत पढेर सुनाइएको थियो ।

धर्मगुरु प्रमोद मुल्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरेली ख्रिष्टिय समुदायका अध्यक्ष हरिराम धिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रकाश भुजेलले कार्यक्रम सन्चालन गरेका थिए ।

Advertisment