क्रिसमसको अवसरमा राष्ट्रियसभाका अध्यक्षकाे शुभकामना

पाेखरा । इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएकाे छ । अध्यक्ष तिमिल्सिनाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलुक रहेकाे स्पष्ट पार्दै हाम्रा चाडपर्व र संस्कृति पनि कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित नभई राष्ट्रिय एकता, पारस्परिक सदभाव, मौलिक संस्कृतिको निर्माणका लागि पनि महत्वपूर्ण रहँदै आएका छन् ।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ। संविधानप्रदत्त हक अधिकारहरुलाई कार्यान्वयन गर्दै प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी गराउँदै आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्बन गर्नु हामी सबैको दायित्व हो। वर्तमान सरकार पनि संविधानद्बारा प्रत्याभूत गरिएका आम नेपाली नागरिकहरुका हक अधिकारहरुको कार्यान्वयनमा प्रतिवद्ध भएर लागिरहेको छ।

यस अवसरमा नेपालको राष्ट्रिय एकता, स्वधीनता तथा अखण्डतालाई मजबुद बनाउँदै, विभिन्न जात, जाति, धर्म, समुदाय बीचको सु-सम्बन्धलाई प्रगाढ तुल्याउँदै, मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न हार्दिक अपिल गर्दै क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु भनी बक्तब्य मार्फत शुभकामना दिएका छन् ।

Advertisment