प्रेस युनियनकाे बैठकमा मिडिया काउन्सिल बिधेयककाे बिराेध, महाधिवेशन चैत्र २१ र २२ मा गर्ने

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् ।
शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताउनुभयो । हालसम्म ७० शाखामा अधिवेशन भई सकेको छ । बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिवाकोटीले जानकारी दिनुभयो । अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ ।
महासचिव शिवाकोटीको संयोजकत्वमा साङ्गठनिक, कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति बैठकले गठन गरेको छ । बाँकी १५ शाखाको अधिवेशन तथा बाँकी रहेको शाखाको सदस्यता शुल्क माघ मसान्तभित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिवेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ ।
बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि बैठकको शुभारम्भ गर्दै अध्यक्ष सिग्देलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने माग गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सुरेश आचार्य, महासङ्घका महासचिव रमेश विष्ट, युनियन चितवनका अध्यक्ष अनिल ढकालले सरकारले ल्याएका विधेयक जनपक्षीय हुनुपर्ने धारणा राख्नुभयो । यसअघि युनियनको आठौँ राष्ट्रिय महाधिवेशन विसं २०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो ।

Advertisment