बगर भाईखलकको प्रिक्वाटरका खेल सम्पन्न, शुक्रबार सेमिफाईनल

पोखरा, ९ माघ । पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकको आयोजनामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार प्रिक्वाटरका खेलहरु सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न भएको पहिलो खेलमा आयोजक सेतोले हेटौडा भेट्रान निलोलाई ४–२ ले पाखा लगाएको छ ।
आयोजकको जितका लागि गंगा तामाङले २, मनोज गुरुङ र किरण श्रेष्ठले १÷१ गोल गर्दै ४ गोल गरे । हेटौडाको तर्फबाट भरत तितुङ र नवराज बज्राचार्यले १–१ गोल गरेका थिए । त्यस्तै दोश्रो खेलमा भनि मण्डल ललितपुरले अभिषेक चर्च नवलपुरलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितका लागि भनि मण्डलका तर्फबाट पाण्डव खाती र सुजित केसीले १÷१ गोल गरे ।
यसै गरि बिहीबार भएको तेश्रो खेलमा एक्स पोखरा भेट्रानले लेकसाइड भेट्रानलाई ४–० फराकिलो गोल अन्तरले पराजित गरेको छ । एक्स पोखराका लागि किसन गौचन र सुरज मल्लले १÷१ गोल गरे भने कुमार शेरचनले २ गोल गरे । हेटौडा भेट्रान रातोलाई नाईट किङ सानो गौचरनले २–३ गोलले पराजित ग¥यो । नाईट किङका लागि राकेश श्रेष्ठले २ र जगत लामाले १ गोल गरे । हेटौडा रातोबाट बल बहादुर गुरुङ र विजयलाल श्रेष्ठले १÷१ गोल फर्काए ।
बिहीबारको अन्तिम खेलमा मिया सान मियाले जोरपाटी भेट्रानलाई ३–२ ले पाखा लगायो । जितका लागि नविन पाण्डेले २ गोल र कल्याण खड्गीले १ गोल गरे । जोरपाटीको तर्फबाट उमेश लामाले २ गोल फर्काए ।
बिहीबार इङ्गल्याण्डका फुटबल कोचतर्फबाट नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स् जोन्स्लाई आयोजकले स्वागत समेत गरेको छ । स्वागत पछि बोल्दै जोन्सले पोखरामा फुटबलको क्रेज देखेर खुशी भएको कुरा व्यक्त गरे । आपसी सम्वन्धलाई सुमधुर बनाउन आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहको भेट्रान फुटवल प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।
त्यसै गरी सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा–१ बगरको टुडिखेल मैदानमा जारी प्रतियोगितामा माघ १० गते शुक्रबार क्वाटर फाईनलका ४ खेल र सेमि फाईनलका २ खेल गरि ६ खेल हुने प्रतियोगिताका प्राविधिक संयोजक खगेन्द्र गुरुङले बताए । शुक्रबार क्वाटर फाईनल अन्तरगतको पहिलो खेल भनि मण्डल र एक्स पोखरा, दोश्रो खेल एबिसि पोखरा र आयोजक सेतो, तेश्रो खेल टि वर्गर ललितपुर र चितवन भेट्रानस्, चौथो खेल नाईट किङ सानो गौचरन र मिया सान मिया बिच हुने छ । साथै उक्त क्वाटर फाइनल खेलका विजेता विचको सेमिफाईनलको खेल पनि शुक्रबार नै हुने आयोजकले बताएको छ ।

Advertisment