तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १९ औं वार्षिकोत्सव सम्पन्न, बिभिन्न महानुभाव सम्मानित

पोखरा, ११ माघ

उच्च शिक्षा हाम्रो लक्ष्यका साथ २०५८ सालमा स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १९ औं वार्षिकोत्सव, स्रष्टा सम्मान एवम छात्रवृत्ति वितरण कार्यक्रम २०७६ शनिवार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सुचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै तमुहरुले राष्ट्रिय विकासमा पनि योगदान दिनुपर्ने बताउनुभयो। सामाजिक क्षेत्रमा धेरै योगदान रहे पनि अन्य क्षेत्रमा तमुहरुको खासै प्रभाव नरहेकाले शैक्षिक लगायत राष्ट्रिय विकासमा ध्यान दिनुपर्ने आग्रह गर्नुभयो।जसका लागि उहाँले संविधानले दिएको हक अधिकारको तमुहरुको पुर्ण उपयोग गर्नुपर्ने बताउनुभएको छ। शैक्षिक क्षेत्रमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पु¥याएको योगदानको प्रसंसा गर्नुहुदै उहाँले संविधानले भाषिक, कला, सँस्कृति लगायतको सामुदायिक अधिकार प्राप्त गर्न गुरुङहरु सक्षम बन्नुपर्ने बताउनुभयो। भाषा आयोगको व्यवस्था संविधानले गरेको छ, भाषाको विकासका बारेमा तमुहरुले त्यसप्रति चासो दिनुपर्दछ उहाँको सुझाव थियो। यसरी नै उहाँले गुरुङ समुदायले अब शुरु हुने जनगणनाका बारेमा सचेत बन्नुपर्ने आग्रह गर्नुभयो। जनगणनामा विभिन्न तथ्यांकहरुसँग सम्बन्धित भएकाले सचेत रहन उहाँको विशेष जोड थियो।

प्रमुख अतिथि गुरुङले प्रतिष्ठानका बारेमा विगतमा केही जानकारी भए पनि शैक्षिक मात्रै नभएर सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रमा योगदान पु¥याउदै आएको र तमु धिं युकेको विशेष साथ सहयोगका लागि समेत धन्यवाद व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा तमु धिं युकेका उपाध्यक्ष हरी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै प्रतिष्ठानले शैक्षिक, सामाजिक, कला, सँस्कृति क्षेत्रमा प्रसंशनीय कार्य गर्दै आइरहेकाले तमु धिं युकेको निरन्तर साथ सहयोग रहने बताउनुभयो। हाल वितरण गरिरहेको छात्रवृत्ति मध्ये करिब ९० जना विद्यार्थीलाई तमु धिं युकेको पहलमा छात्रवृत्ति प्रदान गर्न आफुहरु सफल भएको उहाँको भनाई थियो।

कार्यक्रममा घनबहादुर लामिछाने स्मृति पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्लीलाई २० हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो। उक्त पुरस्कारका लागि स्वर्गिय घनबहादुर लामिछानेको परिवारबाट स्मृतिकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिनुभयो।

यसरी नै क्या.मिनबहादुर गुरुङ(डाँफे बाजे) स्मृति पुरस्कारबाट लोक गीत संगीतमा लामो योगदान दिनुभएका गायक, संगीतकार, नृत्यनिर्देशक धनबहादुर गुरुङ १० हजार रुपैयासहित सम्मान पत्रबाट सम्मानित हुनुभयो। उक्त पुरस्कारका लागि प्रतिष्ठानले क्या.मिनबहादुर गुरुङको स्मृतिमा छ्याँडु प्रतियोगिता आयोजना गरी कोष स्थापना गरिएको कोषाध्यक्ष कौशिला गुरुङले जानकारी दिनुभयो।

यस्तै गरी कार्यक्रममा पार्वता स्मृति समाजसेवी सम्मान पुरस्कारबाट बरिष्ठ समाजसेवी मनबीर गुरुङ ढासा सम्मानित हुनुभयो। प्रतिष्ठानका पुर्व अध्यक्ष तथा सल्लाहकार गिरीप्रसाद गुरुङ स्वर्गीय आमाको स्मृतिमा उक्त अध्यक्षकोष स्थापना गरी समाजसेवी, पत्रकार, चलचित्रकर्मीलाई पालैपालो सम्मान गर्दै आउनुभएको वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले बताउनुभयो।

यसरी नै लालशोभा उत्कृष्ठ आमा सम्मानबाट यस वर्ष तमु विद्यार्थीहरु मध्येबाट नेपालमै उत्कृष्ठ अंक प्राप्त गरी एस ई ई उतिर्ण गरेकी अन्नपुर्ण मावि सिक्लेसकी स्नेह गुरुङको आमा बेलसुवा गुरुङलाई सम्मानित गरिएको थियो भने उत्कृष्ठ विद्यार्थी छात्रवृत्ति पवन गुरुङलाई २० हजार रुपैया र दाता ज्ञाम गुरुङको तर्फबाट ४० हजार रुपैया प्रदान गरिएको थियो। सम्मानित तथा पुरस्कृतहरुलाई प्रमुख अतिथि महेन्द्रमान गुरुङ, कोषका दाताहरु र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा सम्मानितहरुको तर्फबाट तेजबहादुर चाक्ली र पवन गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै प्रतिष्ठान र अक्षयकोषदाताहरुप्रति आभार व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा गायक धनबहादुुर गुरुङ, निशा गुरुङ र नवगायिका एलिना गुरुङले गीत प्रस्तुत, विद्यार्थी समिति, सिक्लेस सभाथर दिदिवहिनी समुह र स्नेह गुरुङले नृत्य प्रस्तुत गरेका थिए भने स्नेह गुरुङले कविता वाचन समेत गर्नुभएको थियो।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले गर्नुभएको थियो।

Advertisment