तमु धिं युके र साहारा युकेलाई तमु धिं नेपालमा स्वागत

पोखरा, ११ माघ
युकेमा रहेर सामुदायिक हितका लागि जुटिरहनुभएका तमु धिं युके र सहारा युकेका अभियन्ताहरुलाई तमु धिं नेपालले शनिवार स्वागत गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालका आयोजित कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धिं युके र एन आर एन युकेका पुर्व अध्यक्ष मुच्छेत्र गुरुङ, सल्लाहकार चन्द्रमान गुरुङ, कार्यसमिति सदस्य भोजबहादुर गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष मिनबहादुर गुरुङ, कोषाध्यक्ष सारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, तमु धिं युके तथा सहारा युकेका सदस्य श्री चन्द्र गुरुङ, एनआएएन का रविन्द्र गुरुङलाई तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङ खादा लगाएर स्वागत गर्नुभएको थियो।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले युकेमा पोखरा आगमन हुदाँको स्वागत तथा आतिथ्यताले समाजसेवा र सामाजिक अभियन्ताको महत्व महसुस हुने र थप सेवा गर्न प्रोत्साहन मिल्ने बताउनुभयो। तमु धिं नेपालको स्थापनाको इतिहास, तमुहरुको लागि गरेको सेवा र संस्थागत महत्वको अनुभूतिले नै युकेमा पनि तमु धिं स्थापनाको प्रेरणा मिलेको बताउनुभयो। तमु धिं युके स्थापना पश्चात युके र नेपालमा सामुदायिक लगायत विभिन्न विकास र संस्थागत साथ सहयोग गरिएको बताउनुभयो।
पोखरा रंगशालाको पर्खाल, तमु साँस्कृतिक प्रतिष्ठानको तमु विद्यार्थीलाई छात्रवृत्ति, सहारा पोखरालाई सहयोग, महाभुकम्पमा तमु धिं युकेको भुमिका, धर्मकाया बुद्ध मण्डला, बाढी पहिरो, विभिन्न इभेण्टहरुमा सहकार्य र संघ संस्थाहरुसँग हार्दिकता सबै सामु स्पष्ट भएको उहाँले बताउनुभयो। यसरी नै दुइवर्ष अघि देखि तमु समुदायका लागि त्रिभाषिक सास्कृतिक पुस्तक लेखन तमु कल्चरल फोरमले गरिरहेको जानकारी दिनुहुदै विगतमा क्होला सोंथर भ्रमणमा साथसहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले व्यस्तताको बावजुद आमन्त्रणलाई स्विकार गर्नुभएकोमा धन्यवादका साथै स्वागत गर्नुहुदै तमु धिं युकेको सामाजिक सेवा र क्रियाशीलताले आफुहरु प्रेरित भएको बताउनुभयो। तमु अभियन्ताहरु जहाँ रहेपनि एउटै लक्ष्य र उद्धेश्यसहित सेवामा जुटेकाले तमु धिं युके र तमु धिं नेपालको समन्ध प्रगाढ रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, सामाजिक रुपमा स्थापित भएका तमु संघ संस्थाहरुको छाता संस्थाको रुपमा एकतावद्धता जरुरी छ, धार्मिक संस्थाहरुले धार्मिक, साँस्कृतिक संस्थाहरुले साँस्कृतिक, शैक्षिक संस्थाहरुले छाता संस्थाहरुमा आवद्ध भई क्रियाकलाप गर्नुपर्ने बताउनुभयो। कार्यवाहक अध्यक्ष गुरुङले तमु एकताबाट मात्रै तमु जातिय सामुदायिक अधिकार प्राप्ति गर्न सम्भव हुनेछ भन्नुहुदै एकता पश्चात पोखरामा तमुहरुको विश्व सम्मेलन आयोजना गरिने बताउनुभयो।

कार्यक्रममा सचिव अधिवक्ता जुनाकुमारी गुरुङले स्वागत र महासचिव गिरीप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

Advertisment