देश उज्यालो पार्ने कुलमानकाे ठाउंमा ज्ञवाली !

काठमाडौं, भदौं ३० । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गरेन ।

यद्यपि, कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी प्रस्ताव लगिएको दाबी उर्जा मन्त्रालयको छ । मन्त्रिपरिषदमा पुगेको उक्त प्रस्ताव प्रधानमन्त्री केपी ओलीले बैठकमा पेश नै नगरेपछि मन्त्री वर्षमान पुनले जिज्ञासा राख्दा कानुनी प्रश्न रहेकाले यो बैठकमा नहुने ओलीको जवाफ रहेको दाबी गरिएको छ ।

उता कुलमान घिसिङ चार वर्षे कार्यकाल सकाएर आइतबार नै बिदा भएकाले प्राधिकरण नेतृत्वविहीन छ । प्राधिकरणमा लैजान प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका आ–आफ्ना रोजाईका पात्र छन् ।

१८ घण्टे लोडसेडिङ हटाउँदै प्राधिकरणलाई अर्बौअर्बको घाटाबाट अर्बौ नाफा लगेका कारण कुलमानलाई नै पुनर्नियुक्ति गर्नुपर्ने आमसर्वसाधारणको दबाब छ ।

प्रधानमन्त्रीमाथि घिसिङलाई नभई उहाँका विश्वासिला पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीलाई बनाउन खोजेको आरोप लागिरहेको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र मन्त्री पुन घिसिङकै पक्षमा रहेको जनाइएको छ ।

नियुक्ति गर्नु नै पर्दा पनि घिसिङले फेरि खुल्ला प्रतिष्पर्धामा सहभागि हुनुपर्ने अवस्था सृजना गराइएको छ । यो एक हिसाबले घिसिङलाई निरुत्साहित गर्न र उहाँलाई सहभागि नै नहुने वातावरण बनाउन खोजेको उर्जा मन्त्रालयका एक अधिकारी बताउँछन् ।

राम्रो काम गरेर चर्चा कमाइरहेका व्यक्तिलाई सहज पुनर्नियुक्ति नदिनु र कानुनी प्रश्न रहेको छ भनेर प्रधानमन्त्रीले पन्छाउनुको मुख्य कारण नै अब घिसिङ प्रतिष्पर्धामा नआउन् भन्ने दुराशय रहेको ति अधिकारी बताउँछन् ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ११ अर्ब नाफामा लगेको भन्दै घिसिङको प्रशंसा हुँदा नयाँ परियोजना ल्याउन नसकेको एमसीसीमा प्रधानमन्त्रीलाई नसघाएको आरोप लगाइएको छ ।

यसैबारेमा प्रधानमन्त्रीको सोचलाई बल पुग्ने गरी उहाँका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक रुपमा टिप्पणी गर्नुभएको छ ।

कुलमान घिसिङलाई नियुक्त गर्न सरकारलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको सुझावप्रति कटू टिप्पणी गर्दै थापाले के कुलमान कानुनभन्दा माथि हुन् भन्ने प्रश्न उठाउनुभएको छ । अरु र कुलमानलाई कानुन फरक हुन्छ र ?

अरुले पुनर्नियुक्तिका लागि फेरि प्रतिष्पर्धामा सामेल हुनुपर्ने घिसिङले नपर्ने जस्ता तर्क थापाले सारेको देख्दा पनि बालुवाटारमा के पाक्दै छ भन्ने बुझ्न सकिन्छ ।

प्रवक्ता श्रेष्ठले भने घिसिङलाई नेपाल आमाका सुयोग्य सुपुत्रको संज्ञा दिँदै पुनर्नियुक्त गर्न माग गर्नुभएको थियो ।

ईमेज खबर बाट

Advertisment