अवैध जडिवुटी सहित पाँच जना पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले ठूलो मात्रामा अवैध जडिबुटी सहित पाँच जनालाई पक्राउ गरेको छ ।
यही कार्तिक १५ गते मनाङबाट ग १ ज ७४५३ नम्वरको पिकअप बोलेरो जिपमा अवैध रुपमा जडिबुटी ओसारपसार हुंदैछ भन्ने सूचनाको आधारमा पक्राउ गरेकाे छ ।

प्रहरीले खोजलतास गर्दै जाँदा दिउँसो अंन्दाजी २ बजेको समयमा जिल्ला लमजुङ बेसीशहर नगरपालिका वडा नं. ८ नारायणस्थान स्थित मनाङ तर्फबाट आउँदै गरेको चालक जिल्ला लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३१ को कर्ण गुरुङले चलाएको उक्त जिपलाई फेला पारी खानतलासी गर्ने क्रममा सोही जिपमा लुकाई छिपाई राखेको अवस्थामा अवैध जडिबुटी जटामसी-१६ किलोग्राम, बुकीफुल-१२४ किलोग्राम, धुपिपात-५३ किलोग्राम, सुनपाती – ९ किलोग्राम, भोजपत्र – १३ किलोग्राम गरी जम्मा २१५ किलोग्राम फेला पारी उक्त जडिबुटी तथा जिप सहित चालक कर्ण गुरुङ, जिपमा सवार भई जडिबुटी ओसारपसार गर्ने कार्यमा संलग्न जिल्ला मनाङ नार्फु गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४५ को लाम्पा छिरिङ लामा र जिल्ला मनाङ नेस्याङ गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २९ की पल्मु लामालाई पक्राउ गरीएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला लमजुङ बेसीशहर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४४ की शान्ता कुमारी तामाङको घर खानतलासी गर्दा लुकाई छीपाई राखेको अवस्थामा प्रतिवन्धित जडिबुटी पाचँऔले ८ किलोग्राम बरामद गरिएको र ऐ.ऐ. बस्ने वर्ष ४६ को मिन बहादुर तामाङको घर खानतलासी गर्दा अवैध जडिबुटी पाचँऔले ३.५ किलोग्राम, निरमसी ५३ किलोग्राम, मजिठो १४ किलोग्राम, पिप्ला-२४१ किलोग्राम, सतुवा ८.५ किलोग्राम, जटामसी २.५ किलोग्राम, ढालिङ १०६ किलोग्राम, कुड्की ५४ किलोग्राम गरी जम्मा ४८२.५ किलोग्राम फेला पारी शान्ता कुमारी तामाङ र मिन बहादुर तामाङ समेतलाई पक्राउ गरी पक्राउ परेका सम्पूर्ण व्यक्ति तथा बरामद भई आएका जडिबुटी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताउनुभयो ।

बरामद भई आएको जडिबुटीको अनुमानित बजार मुल्य रू. १९,३२,२९०।- (अक्षरूपी उन्नाईस लाख बत्तिस हजार दुई सय नब्बे) रहेको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको प्रहरी नायव राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभएकाे छ ।

फाेटाे- फाईल एजेन्सी ।

Advertisment