खानेपानी चोरी गर्नेलाई कारवाही !

पोखरा, २४ मंसिर
सुख्खा याम सुरु भएसँगै पोखराको बजार क्षेत्रमा खानेपानी चोरी गर्नेको संख्या बढेको छ । खानेपानी संस्थानले वितरण गर्दै आएको पानीको धारामा जडान भएको मिटर झिकेर पानी चोरी गर्नेको संख्या बढेको हो ।
खानेपानी संस्थानले जडान गरेको मिटर झिकेर विद्युतीय पम्पको माध्यमबाट चोरी गर्नेको संख्या बढेको संस्थानले उल्लेख गरेको छ । मंगलबार पोखरा १७ माथिल्लो बेलघारीमा संस्थानको अनुगमन टोलीले ५ उपभोक्ताको घरबाट पम्प जफत गरेको वितरण शाखाका प्रमुख लक्ष्मण पाण्डेले जनाएका छन् ।

संस्थानले वितरण गरेको समयमा पर्याप्त पानी नपुग्ने केही उपभोक्ताको गुनासो छ । छिमेकीले पम्प लगाइदिएपछि थोपो पानी नझर्ने गुनासो संस्थानमा आउन थालेपछि अनुगमनलाई तीब्रता दिएको हो ।
खानेपानी संस्थानको पानी उत्पादन क्षमता हिउँद याममा घटेसँगै मोटर जडान गरेर पानी चोर्नेको संख्या वर्षेनी बढेको अनुमान गर्न सकिने संस्थान स्रोतले बताएको छ । खानेपानीको मिटर झिकेर मोटरको माध्यमबाट पानी तान्नु अपराध भएपनि उपभोक्ता सजग नहुँदा समस्या परेको कार्यालय प्रमुख इन्जिनियर आशिष कार्की बताउँछन् ।

कार्कीले कानुन विपरीत काम नगर्न उपभोक्तालाई अनुरोधसमेत गरे । उनले अनुगमन टोली खटाएर पानी चोरी नियन्त्रणमा लिने बताए । ४५ हजार धारामा केही उपभोक्तामात्र सचेत बन्न नसकेको कार्कीको अनुमान छ ।

अन्य सहरमा यस्तो समस्या संस्थानले भोग्नु नपरेको स्मरण गर्दै पोखरेली उपभोक्ताले यस्तो क्रियाकलाप नगर्ने उनको धारणा छ । उनले चोरीको प्रकृति हेरी संस्थानको नियम अनुसार जरिवाना लाग्ने बताए ।

चुहावट नियन्त्रण गर्न गठित अनुगमन टोलीले छोरेपाटन, बेलघारी, बिरौटा, हिमाली टोल, चाउथे र विन्ध्यवासिनी क्षेत्र अन्तर्गत सिम्पानी, अधिकारी टोल, हमाली टोल, नदीपुर लगायत क्षेत्रमा नियमित अनुगमन गरिने कार्यालयले जनाएको छ । संस्थानले पोखराको विभिन्न क्षेत्रमा अनुगमनलाई तीब्रता दिई उपभोक्ता हितमा लाग्ने योजना बनाएको कार्यालय प्रमुख कार्कीले उल्लेख गरेका छन् ।
उपभोक्ताको गुनासोलाई ध्यान दिँदै नेपाल खानेपानी संस्थान पोखरा शाखाले कार्यालय समय अतिरिक्तसमेत अनुगमन गर्ने जनाएको छ । यता उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्ने जापानिज सहयोग संस्था जाइकाले सुृरु गरेको मर्दी मुहान ट्रिटमेन्ट प्लन्ट अन्तर्गत ३० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख कार्कीले बताएका छन् ।

Advertisment