देउवाको अपिल : सरकारको असंवैधानिक कदमविरुद्धको देशव्यापी प्रदर्शनमा सहभागी हुनु

काठमाडौं । नेपाली कांग्रेसले सरकारले पुस ५ गते संसद्‌ विघटन गर्दै असंवैधानिक कदम चालेको भन्दै पुस १३ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको असंवैधानिक कदमविरुद्धको पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् ।

शनिबार सभापति देउवाले अपिल जारी गर्दै सभापति देउवाले शनिबार अपिल जारी गरेर कांग्रेसले पुस १३ गतेका लागि तय गरेकोे देशव्यापी प्रदर्शनमा सक्रिय सहभागिताका लागि आमनागरिकलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको घटनाविरुद्ध कांग्रेसले पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।

उनले संसद् विघटनकै दिन पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरुको बैठक आयोजना गरेर कांग्रेसले बैठकमार्फत् संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख गरेका छन् ।

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको उनको भनाइ छ । सभापति देउवाद्वारा अपिलमा भनिएको छ, “जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।”

उनले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि अपिल गरेका छन् ।

Advertisment