काठमाडौं, माघ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनमुक्ति सेनाका पूर्व कमाण्डरहरुले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार पूर्व कमाण्डरहरुले भेटगरी प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीले जनयुद्धताका पूर्व कमाण्डरहरुले दिनुभएको योगदान, त्याग र बलिदानको प्रसंशा गर्नुभयो । “जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति हाम्रो सम्मान छ” प्रधानमन्त्री ओलीले सो अवसरमा भन्नुभयो । भेटमा पूर्व कमाण्डरहरुले आफूहरु पीडामा रहेकाले समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।
तत्कालिन नेतृत्वले तपाईरूका भावनाको दुरूपयोग गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तथ्य बुझेर तपाईहरु जुन निष्कर्षमा आइपुग्नु भयो, यो एकदमै सही छ ।” छलफलमा प्रधानमन्त्री ओलीले पूर्व कमाण्डरहरुको समस्या बास्तविकरुपमा सरकारले सम्बोधन गर्ने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभएको गोरखापत्र अनलाइनमा उल्लेख गरिएको छ । ।
“तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा भएजस्तो धोका पाउनुहुने छैन“ प्रधानमन्त्री ओलीले भन्नुभयो । हिजो शुक्रबार आयोजित जनसभामा तत्कालिन जनयुद्धका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइते, अपाङ्गता भएकाहरुको पीडा आफूलाई मात्र थाहा भएको र अरुले समस्या समाधान गर्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो ।
प्रधानमन्त्रीसँग जनयुद्धको पूर्व कमाण्डरहरुको भेट
१० माघ २०७७, शनिबार
374
Advertisment