विधि, पद्धति र प्रक्रियाअनुसार हटाए मलाई मान्य हुन्छः प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विधि, पद्धति र प्रक्रियाअनुसार आफूलाई हटाए ‘मान्ने हुने’ बताउनुभएको छ ।
नेकपा गण्डकी स्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । प्रचण्ड–माधवले शुरुदेखि छलछामको काम मात्र गरेको उहाँले चर्चा गर्नुभयो । पार्टीभित्र गुटबन्दी कायम गर्दै पार्टीभित्र अराजकता मच्चाउने काम सो समूहले गरेको उहाँले टिप्पणी गर्नुभयो ।
“समृद्ध नेपाल र सुखी नेपाली” आफ्नो संकल्प भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसकालागि सरकार र नागरिक सबै लाग्न आवश्यक रहेको बताउनुभयो । आम जनताको आकांक्षा, देशको आकांक्षा यस नाराभित्र समेटिएको उहाँले चर्चा गर्नुभयो । सो आकांक्षा कतिपयलाई मन नपरेको उहाँले टिप्पणी गर्नुभयो ।
“यसअघि एक वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो, तर हामीले एक दिनमा ५.७ किलोमिटरका दरले सडक कालोपत्रे भइरहेको छ” उहाँले भन्नुभयो । विकासको काम रफ्तारमा भइरहेको उहाँले चर्चा गर्नुभयो । हिजो आइतबार मात्र ३१ वटा सडक पुलको शिलन्यास गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । यो तीन वर्षमा विकासको ठूलो काम भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गरी ठूलो रोजगारी सिर्जना भएको बताउनुभयो ।
“हिजोसम्म अरुको उत्पादनको उपभोग गर्ने उपभोक्ता मात्र थियौं, आज हामी कृषि सामग्रीको उत्पादक देश बनेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको कामको रफ्तार देखेर विचलित भएकाहरुले अवरोधको काम भइरहेको छ, सम्पूर्ण रुपले ममाथि अत्यन्त तिव्र ढङ्गले प्रहार भइरहेको छ ।” आफू माथि भौतिक हमला पनि हुनसक्ने सम्भवना रहेको तर त्यसप्रति आफू सचेत रहेको उहाँले बताउनुभयो ।
“यो पार्टीलाई तलमाथि पर्न दिंदैनौं, देशको भविष्य अन्धकार हुन दिंदैनौं” अध्यक्ष ओलीले थप्नुभयो, “हामी करेक परिस्थितिको सामना गर्न तयार छौं, हामीले लडेर ल्याएको लोकतन्त्र हो त्यसैले रक्षा गर्छौ ।” अहिले अपराधिक तत्वहरुसँग सामना गरिरहनुपरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले झुठा लान्छना लगाएर केही पक्षहरुले दुस्प्रचार गरिरहेको टिप्पणी गर्नुभयो । झुठा लान्छनाको पुलिन्दा फ्याँकेर पार्टी समाप्त गर्न खोज्नेहरु यहाँ सक्रिय छन् उहाँले भन्नुभयो ।
पार्टीको सुढृकीकरण र शुद्धिकरणको आवश्यकता रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रलाई सुदृढ बनाउने संकल्पसाथ हामी अघि बढेका छौं, पार्टी भित्रको सानातिना मतभेदमा अल्झिनु हुन्न ।” अरुले अनुशरण गर्नेखालको आचरण सबैको हुनुपर्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले खोटरहित महान उद्देश्य पूरा गर्न आफूहरु लागेको प्रष्ट पार्नुभयो । पार्टी एकता गरी देश बनाउने उद्देश्यले आफू अघि बढे पनि पार्टीका केही नेताहरु पद र प्रतिष्ठाका लागि लागेपछि पार्टीभित्र समस्या निम्तिएको बताउनुभयो ।
पार्टी कब्जा गरी देश बर्बाद बनाउने सोचसाथ प्रचण्ड–माधव पक्ष लागेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “नियुक्ती दिनेले नियुक्ती वदर गर्न सक्छ, नाम लेख्न सक्नेले नाम काट्न सक्छ ।” अर्को पक्ष कसैलाई पार्टीबाट नहटाइएकाले पार्टीमा फर्कन उहाँले सबैलाई आव्हान गर्नुभयो । विधि, पद्धति र प्रक्रियाको कुरा गर्नेहरु आफै मिचेर अराजकता मच्चाएको उहाँले बताउनुभयो ।
“कार्की बैंङ्केटमा भोज खान बोलाएर पार्टीमा बहुमत भयो भनेर हुन्छ, पार्टीले बोलाएको बैठकमा आएर बहुमत पुष्टि गर्नुप¥यो” अध्यक्ष ओलीले थप्नुभयो, “विधि प्रक्रियाबाट आउनुस्, हामी मान्छौं ।” आफूहरुको उद्देश्य कुनै छलछाम नगरी देश बनाउने रहेको बताउनुभयो । यसअघिको सरकारबाट आफूलाई हटाउने पनि अहिलेकै तत्व भएको उहाँले चर्चा गर्नुभयो ।
देश फेरि अलमलमा फँसेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला आफूहरुलाई मान्य रहेको बताउनुभयो । “चुनावमा जान डराउने शक्तिहरुको संसदमा अव भूमिका कस्तो हुन्छ हेर्नुछ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्दै अगाडि बढ्छौं, हामी जनताप्रति बफादार छौं ।”
गलत बाटो छाडेर सही बाटोमा आउन उहाँले कार्यकर्ता पङ्तीलाई आव्हान गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “शान्तिपूर्ण बाटोमा आउनुस्, देश बनाउने अभियानमा लाग्नुस्, किन तर्साउने अभियानमा लाग्नुहुन्छ ?” केही तत्वहरु आफ्नो स्वार्थका लागि सर्वसाधारण सोझा इमान्दारलाई उपयोग गरिरहेको उहाँले चर्चा गर्नुभयो । केही समय जनतालाई भ्रममा पार्न उहाँहरु सक्नुहोला तर सप्रिनु हुन्न उहाँले भन्नुभयो ।
प्रचण्ड–माधव पक्ष पदको पगडी बाँध्नेहरुमात्र भएको टिप्पणी गर्नुहुँदै उहाँले युवा पङ्तीलाई मूल नेकपामा समाहित हुन आग्रह गर्नुभयो । अहिले युवामा ठूलो जागरण र सक्रियता आएकाले पार्टी बचाउने काम युवाकै काँधमा रहेको उहाँले बताउनुभयो । किंचित पनि भ्रममा नपरी देश बनाउने अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो । अहिले देशमा राजनीतिक नयाँ परिस्थितिको सिर्जना भएकाले त्यसको त्यहीअनुसार सामना गर्न आफूहरु तयार रहेको बताउनुभयो । आत्मविश्वासकासाथ अनुशासिन ढङ्गले अगाडि बढ्न उहाँले पार्टी पङ्तीलाई आव्हान गर्नुभयो ।
नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड–माधव पक्षलाई सच्चिने अन्तिम अवसर रहेको बताउनुभयो । “गत भदौ २६ गतेको निर्णयमा आत्मलोचनासहित फर्किनुहोस्, पार्टीलाई एकताबद्ध गर्नमा योगदान गर्नुहोस्” उहाँले भन्नुभयो । उहाँहरुले आफ्नो गल्ती आत्मलोचना गरेमा पार्टी अझ एकतावद्ध हुने सम्भावना रहेको उहाँले चर्चा गर्नुभयो । समाजवाद विरोधी, पार्टी विरोधी, राष्ट्रियता विरोधी शक्तिको अगाडि आफूहरु नझुक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा विप्लव समूह र जसपाका नेता तथा कार्यकर्ताहरुलाई उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल र गृहमन्त्री बादलले फुलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

Advertisment