एमाले स्थायी कमिटी बैठक बस्ने, दुबै पक्ष छलफलमा

काठमाडौं, जेठ २० गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्दैछ । पार्टीको केही असन्तुष्ट नेताहरुसँगको छलफल तथा त्यसको प्रगति र समसामयिक राजनीतिक अन्य विषयमा छलफल हुने बताइएको छ ।

एमाले स्थायी कमिटी बैठक बुधबारका लागि पनि तय गरिएको थियो । तर गृहकार्य नपुगेकोभन्दै आज ४ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्ने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । आजको बैठक स्थगित नहुने पनि उहाँले बताउनुभयो ।

नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले केही बेरमा भर्चुवल माध्यमबाट बस्दैछ । सो पक्षका नेताहरुले समसामयिक राजनीतिक विषय तथा अव चाल्नुपर्ने कदमका बारेमा छलफल हुने जानकारी दिनुभएको छ । सो भर्चुवल बैठकमा सहभागी नहुन एमाले संस्थापन पक्षले केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विहान विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो ।

नेता नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टीको एकता जोगाउन संस्थापन पक्षसँग नियमित छलफल र संवादमा हुनुहुन्छ । अन्तिम समयसम्म पनि पार्टीलाई फुटबाट जोगाउने प्रयास कायम राख्ने भनाई वार्तामा सहभागी नेताहरुको छ । नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरुले पार्टी एकताको प्रयास कायम राख्नुभएको छ ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले बुधबार नेता योगेश भट्टराईसँग एक्लाएक्लै छलफल गर्नुभएको थियो । गत मंगलबार दुवै पक्षका दोस्रो पुस्ताका नेताहरुबीच संयुक्त छलफल भएको थियो । दुवै पक्षका नेताहरुबीच अनौपचारिक छलफल जारी रहेको नेता प्रदीप ज्ञवालीले जानकराी दिनुभयो । यद्यपि आज बैठक बस्ने विषयमा कुनै तयारी भइनसकेको उहाँले बताउनुभयो । दुवै पक्षको आ–आफ्ना बैठक भएकाले पनि आज साइडलाइन बैठक सम्भव नहुने उहाँले बताउनुभयो

Advertisment