कांग्रेस महाधिवेशन सर्ने निश्चित, निर्वाचन हुन ३ दिन बांकी रहंदा नेताहरु अलमलमा !

निर्वाचनको समयतालिका आरम्भ हुन तीन दिन मात्र बाँकी, सदस्यहरू अलमलमा
काठमाडौं । पहिलो चरणको अधिवेशन र निर्वाचनको समयतालिका आरम्भ हुन अब तीन दिन मात्र बाँकी रहे पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनिश्चयको बन्दी भएको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ । महाधिवेशन जस्तो महŒवपूर्ण कार्य आरम्भ गर्नु तीन दिन पहिलेसम्म कुनै तयारी नहुनु आश्चर्यजनक मानिन्छ । चार वर्षको कार्यकाल थप हुँदै पार्टीको विधान र देशको मूल संविधानले निर्धारण गरेको समयावधि पनि अब जम्माजम्मी ३५ दिनभन्दा बढी छैन । करिब १० लाख क्रियाशील सदस्यबाट टोल, वार्ड, पालिका, जिल्ला, प्रदेश र केन्द्र गरी करिब एक लाख पदाधिकारी र सदस्यको चयन हुनुपर्ने छ ।

यसै पनि नेपाली कांग्रेसको विधान राष्ट्रको संविधान अनुकूल बनाउन र अर्कातिर केन्द्रीय नेतृत्वका फरक गुटहरूको हानाथापको चेपुवामा परेर अत्यन्त जटिल र कार्यान्वन हुन निकै सकस पर्ने वनाइएको छ । आजका दिनमा देखिएको गुट उपगुटलाई थप पेचिलो बनाउने र चुनावी प्रक्रियालाई खर्चिलो, फोहोरी र बोझपूर्ण बनाउनमा कांग्रेसको विधानले फराक बाटो खोलेको छ । राष्ट्रिय निर्वाचनको फोहोरी खेलमा बानी परेको जनमतले कांग्रेसको विधानमा विद्यमान जटिलता र लोकतान्त्रिक संस्कृतिको मर्यादालाई बुझ्नेछ भनेर अपेक्षा गर्नु निरर्थक हुनेछ ।

भदौको दोस्रो साता केन्द्रीय महाधिवेशनको मिति तय भएको छ । तर, अहिलेसम्म न्यूनतम काम गर्ने तयारी समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार समिति, स्वागत समिति, स्वयंसेवक समिति केही पनि बनेको छैन । अतिथिहरूको सूची बनेको छैन र निम्तो दिने कुरा त परै रह्यो । स्वदेशका १६५ क्षेत्र र विदेश क्षेत्र (नेजस)बाट अनि विभिन्न भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूबाट गरी करिब पाँच हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू सहभागी हुनेछन् ।

एकजना केन्द्रीय सदस्यका अनुसार महाधिवेशनका लागि अनिवार्य तीन विषयको टुंगो नलागेसम्म महाधिवेशन अनिश्चित नै हुनेछ । पहिलो क्रियाशील सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने, निर्वाचन समितिले निर्वाचन निर्देशिका जारी गरी निर्वाचनका लागि अधिकृत तोक्ने र अन्य राजनीतिक दलबाट आएकाहरूलाई समायोजित गर्नुपर्ने छ । तर, यी तीनै कामहरू अहिले सम्पन्न भएको अवस्था छैन । अहिले पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केही जिल्ला र क्षेत्रका प्रतिनिधिहरू कुनै आमरण अनशन त कोही धर्नामा बसिरहेका छन् । क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूमाथि हातपात भएको भन्ने घटनाले केही दिन समितिका सदस्यहरूले नै काम बन्द गरेको थिए । न्यूनतम काम सम्पन्न नभएको अवस्थामा कसरी महाधिवेशन होला ? उहाँको चिन्ता छ ।

यही १२ साउनबाट स्थानीय तहबाट हुनुपर्ने अधिवेशन र निर्वाचन अन्योलमा रहेको हुनाले सदस्यहरू अन्योलमा नै छन् । शहर केन्द्रित निर्णयका कारण अनेक कुनाकन्दरामा रहेका, अनेक भीरपाखा, खोलानाला, वनजंगल र विकट भू–अवस्था र तराई भेगमा डुवानको चपेटाबाट अनेक समस्याहरू भmेल्नुपर्ने सदस्यहरूका लागि कमसेकम १५ दिनको सूचना र जानकारी हुनु आवश्यक हुन्छ । तर, राजधानीमा सुविधासम्पन्न स्थानमा बसेका अधिकांश केन्द्रीय नेताहरूलाई यो पीडाबोध देखिँदैन । विकट पहाडी भू–क्षेत्रको समस्या भोगेर आएका नेताहरू समेत शहरको सुखसयलमा आकण्ठ डुबिसकेका हुनाले उनीहरू भुइँ सदस्यहरूको समस्याप्रति निरन्तर निरपेक्ष छन् ः हिमाली क्षेत्रबाट आएका एक क्रियाशील सदस्यको गुनासो रहेको छ । यो सम्वादातासँग उहाँले भन्नुभयो– ‘मध्य वर्षा छ, अधिकांश पुलहरू भत्केका छन्, बाटोको चिनो हराएको छ, सम्पर्क माध्यम टुटेको छ, यस अवस्थामा महाधिवेशनमा भाग लिन कसरी जाने ? त्यसमा पनि कोरोनाको व्यापकता झन् कहाली लाग्दो छ । के कांग्रेसको अधिवेशनभन्दा सानो हो त सदस्यहरूको ज्यान ? अनुकूल समयमा महाधिवेशन नगर्ने अनि प्रतिकूल समयमा महाधिवेशनको तिथि तय गर्ने कसरी सम्भव हुन्छ ?’

नेपाली कांग्रेस अहिले सरकारको नेतृत्वमा रहेको हुनाले कुनै विकल्प खोज्नु जरुरी छ । संविधानमा परिवर्तन गर्न दुईतिहाइ आवश्यक भए पनि निर्वाचन आयोगको कानुन र निर्णय अनि अरू संघसंस्थाहरूवारे भएको अदालती निर्णयहरूको समेत सहारा लिएर किस्ता किस्तामा होइन एकैपटक महाधिवेशनबारे पार्टीको निर्णय हुनुपर्ने ओखलढुंगाका एक क्रियाशील सदस्यको सुझाव छ । शुक्रबार बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने आशा धेरैको थियो तर स्थगित भएर शनिबार (आज)का लागि सरेको छ । तर, आज पनि ठोस निर्णय हुन्छ कि हुँदैन कांग्रेस सदस्यहरू अलमलमा नै छन् ।

हिमालयटाईम्स बाट

Advertisment