पर्यटन लक्षित खोप कार्यक्रम छिटै :- मन्त्री मणिभद्र शर्मा

पोखरा, २५ साउन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिन भित्रमा नै कोभिड १९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाइने बताएका छन् ।

पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व विषयमा पश्चिमान्चल होटल संघ पोखराले सोमबार यहाँ आयोजना गरेको छलफल कार्यक्रमा मन्त्री शर्माले सो जानकारी दिएका हुन् । पहिलो चरणमा पोखरा पर्यटन परिषद् अन्तरगत रहेका संघ लगायतका सदश्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको तथ्यांक उनले सुनाए । थप खोप बिस्तारै प्रदान गर्दै गइने उनको दावी थियो ।

खोपविना पर्यटन क्षेत्र अघि बढ्न नसक्ने पश्चिमान्चल होटल संघ पोखराले विगत केही महिनादेखि बताउँदै आएको थियो । न्यून मात्रामा भए पनि पर्यटन क्षेत्रका लागि खोप छुट्याइनु सकारात्मक भएको संघका अध्यक्ष विकल तुलाचनले बताए । कोभिडबाट उत्पन्न परिस्थितिका कारण पोखराका २५ प्रतिशत होटल बन्द भएको र ६५ प्रतिशत मजदूर पलायन भएको जानकारी पनि उनले सो अवसरमा दिए । कार्यक्रममा तुलाचने सरकारले प्रतिवद्धता ब्यक्त गरे अनुरुप विद्युत्मा छुटको घोषणा लागू हुनु पर्ने र अन्य राहातका कार्यक्रम पनि अगाडि बढाइनु पर्ने माग गरे ।

सो अवसरमा बोल्दै मन्त्री शर्माले पर्यटन व्यवसायी र सम्बन्धित सरोकारवाला तथा विज्ञहरुसँग बसेर आफूले पर्यटन पुनरुत्थानको योजना ल्याउने तयारी गरिरहेको जानकारी पनि सो अवसरमा दिए । कोभिडलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले ल्याएको एक अर्व रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको व्यवस्था यथावत रहेको जानकारी पनि उनले दिए । बाग्लुङको बलेवामा रहेको विमानस्थललाई संचालनमा ल्याउने विषय, हिमागृह खोल्ने विषय र पोखराको पर्यटन बसपार्क निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याउने विषयलाई आफूले ध्यान दिएको भनाई पनि उनको थियो ।

कार्यक्रममा संघका सल्लाहकार वच्चुराम तिवारीले तत्काल विदेशी पर्यटक नेपाल आउने संभावना नरहेको स्मरण गराउँदै आन्तरिक पर्यटक प्रबद्र्धनको योजना सरकारसँग के छ भनी प्रश्न गरे । संघका अर्का सल्लाहकार हरि शर्मा गैह्रेले पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा नराखिनु दुर्भाग्य भएको गुनासो गरे । अनलाइन मार्फत् पढाउने शिक्षकहरु फ्रन्टलाइनमा गनिंदा पर्यटन क्षेत्र उपेक्षामा पर्नु दुःखद भएको उनको भनाई थियो ।

संघका सल्लाहकार गोविन्दराज पहारीले कोभिडका कारण सबै भन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएको भन्दै यो क्षेत्रका लागि तत्काल राहातका कार्यक्रम सरकारले घोषणा गर्नु पर्ने बताए । पानी र विजुलीमा होटलकर्मीले कुनै राहत नपाएको भन्दै बैंकको ताकेताले ब्यवसायी झनै प्रताडित हुनु परेको उनले दुखेसो पोखे ।

सो अवसरमा बोल्दै संघका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदश्य भरतराज पराजुलीले होटल क्षेत्र ठूलो लगानी भएको व्यवसाय भएको स्मरण गराउँदै खोपमा त्यही अनुसारको प्रथमिकता प्रदान गरिनु पर्ने बताए । पोखरा र बरपरको पर्यटन क्षेत्रमा दुई खर्व रुपैयाँ हाराहारीको लगानी रहेको भन्दै पराजुलीले साना होटलमाथी लादिएको वातावरणीय प्रभाव मूल्यांकनको व्यवस्था खारेज हुनु पर्ने माग राखे । लेकसाइड स्थित हिमागृह सर्वसाधरणको लागि छिटो खोलिनु पर्ने माग पनि उनले राखे ।

संघका सहकोषाध्यक्ष नरेशबहादुर भट्टराईले पोखरामा बन्दै गरेको नयाँ विमानस्थबाट बेगनासताल र फेवा तालसम्म पुग्ने मार्ग फराकिलो बनाउनेतर्फ बेलैमा सोच्नुपर्ने सुझाव राखे । अन्नपूर्ण क्षेत्र घुम्न आउने पदयात्रीले एकपटक प्रवेश अनुमति लिएपछि त्यसलाई पुनः प्रयोग गर्न सक्ने गरी बहुप्रवेश प्रणालीमा आधारित बनाईनुपर्ने सुझाव पनि उनले दिए ।

Advertisment