कांग्रेस गाउं / नगर पालिका अधिवेशन बारे पदाधिकारीकाे निर्णय

असाेज ६, काठमाडौं । नेपाली कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गते नै गाउँ/नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको हो।
यद्यपि, बुधबार नै महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले बाँकी रहेका १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर मात्रै गाउँ÷नगरपालिका अधिवेशन गर्न माग गरेको थियो।
तर पदाधिकारी बैठकले असोज ९ गते नै गाउँ/नगरपालिका अधिवेशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘आजको बैठकले पूर्वनिर्धारित पालिकास्तरीय अधिवेशनलाई सम्पन्न गर्ने गराउने सन्दर्भमा सहमति बनाएको छ भने अर्कोतर्फ ९ गतेभित्रै बाँकी जिल्लाहरुको क्रियाशील सदस्यता (जहाँको टुंग्याउन बाँकी छ) टुंग्याउने सहमति भएको छ’, उनले भने।

प्रवक्ता शर्माले असोज ९ गतेपछिका लागि तय गरिएका अन्य तहका अधिवेशनका बारेमा केन्द्रीय निर्वाचन समितिले आवश्यकताअनुसार प्रक्रिया पुर्याएर टुंगो लगाउने पनि जानकारी दिए।

‘९ गतेपछाडिका अधिवेशनका सन्दर्भमा एकातर्फ केही जिल्लाको क्रियाशील टुंग्याउने विषय छ, त्यसलाई पनि सँगसँगै लगेर जाने विषयलाई दृष्टिगत गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आवश्यकताअनुसार प्रक्रियालाई कुन रुपमा लैजाने भन्ने विषयमा टुंगो लगाउनेछ’, उनले भने।

बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयले प्रवेश नपाएको प्रवक्ता शर्माले जानकारी दिए।
नेपाल खबर.कम बाट

Advertisment