पोखरा बचत सहकारीको सेवाकेन्द्र अमरसिंहचोकमा

मंसीर १७ पोखरा । नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा–१० अमरसिंहचोकमा सेवाकेन्द्र बिस्तार गरेको छ ।
सोमबार संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारले एक समारोहका बीच रिबन काटेर सेवाकेन्द्रको समुद्घाटन गरेका छन् । उक्त अवसरमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा संस्थामा कार्यरत कर्मचारीहरु लगायत शेयरसदस्यहरुको उपस्थिति रहेको थियो ।
बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चार हजार दुई सय २७ शेयरसदस्य रहेका छन् । कुल १० करोड ४८ लाख शेयरपूँजि रहेको उक्त सहकारीले आ.व. २०७७÷०७८ मा दुई करोड २९ लाख ६३ हजार खूद मुनाफा आर्जन गर्न सफल भएको थियो । उक्त सहकारी संस्थामा हाल ८५ करोड ४१ लाख बचत (निक्षेप) र ९९ करोड १२ लाख कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष हिरामणि दहालले जनाएका छन् ।

पोखरा–९, नयाँबजार स्थित आफ्नै भवनमा प्रधानकार्यालय रहेको पोखरा बचत सहकारीले पोखरा–८, सिर्जनाचोक स्थित सेवाकेन्द्रबाट समेत आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ । पोखराकै व्यस्त व्यापारिक क्षेत्रहरु मध्ये पोखरा–१०, अमरसिंहचोकमा शुभारम्भ भएको यस सेवाकेन्द्रले आफ्ना शेयरसदस्यहरुलाई थप सेवा विस्तार गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।
संस्थाले बिशेष गरी पोखरा महानगरपालिकाको वडा नं. १०, १२, १३, १४, १५ र १८ लगायत लेखनाथ क्षेत्रमा बसोबास गर्ने आफ्ना शेयरसदस्यहरु मग बमोजिम उनीहरुको सुविधालाई दृष्टिगत गरी यही पौष ५ गते देखि १३ गते सम्म सप्ताहव्यापी कारोवार शुभारम्भ कार्यक्रम राखेको पनि संस्थाका सचिव दिल बहादुर के.सी.ले जानकारी गराएका थिए ।

सेवाकेन्द्र उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत बुद्धिराज तिवारीले गरेका थिए ।

अर्ब क्लबमा उक्लन सफल उक्त सहकारी संस्थामा हाल १५ जना कर्मचारीहरु कार्यरत रहेका छन् भने संस्थाको कार्यक्षेत्र कास्की जिल्ला भरि रहेको पोखरा बचत तथा ऋण सहकारी संस्था लि.नयाँबजार–९, पोखराका सल्लाहकार एबं निबर्तमान अध्यक्ष आश बहादुर गुरुङद्वारा प्रेषित समाचारमा उल्लेख गरिएकाे छ ।

Advertisment