काँहुडाडामा धर्मकाया बुद्ध मण्डलाका विशेष प्राविधिकहरुलाई स्वागत

पोखरा, १० चैत्र
पोखरा महानगरपालिका वडा नं.११ काँहुडाडामा विशेष प्राविधिकहरुलाई स्वागत गरिएकोछ। काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको अन्तिम डिजाइनका लागि सिंगापुरबाट आउनु भएकी क्याथरिनको प्राविधिक समुह र काठमाण्डौंबाट आउनुभएका आर्किटेक्ट इञ्जिनियर स्वरुप गुरुङसहितको टिमलाई धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समिति एवम काँहुबासीको तर्फबाट स्वागत गरिएको हो।

शान्तिको सन्देशका साथै पर्यटनको केन्द्रको रुपमा विकास गरिने धर्मकाया बुद्ध मण्डलाको निर्माणका तयारीको क्रममा धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको प्रमुख संरक्षक साङ्पा रिम्पोछेको अगुवाई विशेष प्राविधिक समुह काँहुडाडा आइपुग्नुभएको हो। उक्त टिमले केही वर्ष अघि धर्मकाया बुद्ध मण्डलाको प्रारम्भिक डिजाइन गरेको थियो।

विशेष प्राविधिक टिमले मण्डला निर्माणको अन्तिम डिजाइन निर्माण गर्नका लागि निर्माण स्थलको दिनैभर स्थलगत अवलोकन समेत गरेको छ।

स्वागत कार्यक्रममा धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिका प्रमुख संरक्षक साङ्पा रिम्पोछेले मण्डला निर्माणको अन्तिम डिजाइनसगै निर्माण कार्य प्रारम्भ गरिने बताउनुभयो। शान्तिको सन्देशको केन्द्रको रुपमा विश्वकै ध्यानाकर्षण हुने गरी मण्डला निर्माण हुने भएकाले सबैको साथ सहयोगको आग्रह गर्नुभयो।

विशेष प्राविधिक टोलीका प्रमुख क्याथरिनले आफुहरुको तर्फबाट सक्दो राम्रो मण्डला निर्माणका लागि सहयोग हुने बताउनुभयो।

मण्डला निर्माणका लागि सहयोग गर्दै आउनु भएका सहयोगीहरुलाई धन्यवाद दिनुहुदै धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले आगामी दिनमा पनि सबैको सहयोगको आग्रह गर्नुभयो। कार्यक्रम समितिका सचिव पुर्ण लामाले सञ्चालन गर्नुभएको थियो।

Advertisment